इमान्दार व्यवसायिक अभिकर्ता उत्पादन गर्न जरूरी छः राजु यादव, सिटिजन लाइफ

राजन कठायत 
१ आश्विन २०८१, मंगलवार १८:२५

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ केही भन्न सकिदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरूसँग संघर्ष गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सको गोलबजार शाखाका डाइनामिक लीडर्स राजु यादवले सरल राजमार्गमा आफ्नो अभियान अगाडी बढाइरहेका छन् । उनी वन डे वन पोलिसी अभियानमा लगातार दुई पटक लक्ष्य पुरा गर्ने कम्पनीको इतिहासमा पहिलो व्यक्ति हुन् ।

मधेश प्रदेशको सिराहा जिल्लामा रहेको गोलबजार नगरपालिका–४, मा जन्म भएका यादव २५ वर्षको उमेरमा नै बीमा क्षेत्रमा उदाएर आफूलाई सफल एजेन्सी मेनेजरको रुपमा स्थापित गरेका छन् ।

सानै उमेरदेखि नै आफू र आफ्नो परिवारको जिम्मेवारी काँधमा बोकेर सफलता प्राप्त गर्न निरन्तर संघर्ष गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् सिरहाका राजु यादव !

उनी सिटिजन लाइफ इन्स्योरेन्सको सिराहास्थित गोलबजार शाखा कार्यालयमा एजेन्सी म्यानेजरको रूपमा आवद्ध रहेका छन् । सिराहा जिल्लाको लाहानमा रहेको एभरेष्ट कलेजबाट १२ कक्षा उत्तीर्ण गरेका यादव हाल आरआरटीजेएम कलेज, गोलबजारबाट स्नातक तह अध्ययन गरिरहेका छन् ।

२०७८ सालमा अभिकर्ता लाइसेन्स लिएका उनी विगत तीन वर्षदेखि निरन्तर बीमा व्यवसायमा सक्रिय रहेका छन् । छोटो समयमा नै यादवले आफूलाई उदाहरणीय र व्यवसायिक बीमा अभिकर्ताको आफ्नो अलग्गै परिचय दिन सफल भएका छन् ।

युवा उमेरमै अध्ययनका साथै बीमा व्यवसायमा ओहरात्र खटिएका उनी सिरहा जिल्लाको कुना काप्चासम्म पुगेर नागरिकहरुको बीमा गरी जीवन रक्षावरण गर्न व्यस्त रहेका छन् । परिवारको समेत पूर्ण रुपले साथ पाएका उनले अध्ययनसँगै आफ्नो बीमा व्यवसाय पनि तीव्र रुपमा अगाडि बढाएका छन् ।

बीमा बाहेक आफ्नो काकाको ईट्टा भट्टा कम्पनीमा समेत काम गर्दै आएका छन् राजु । कम्पनीको गोलबजारका ब्रान्च म्यानेजर शशी शेखर यादव र सोही कम्पनीका एजेन्सी मेनेजर राम प्रमोद यादवको साथ, सहयोग र सल्लाहले बीमा व्यवसायमा प्रवेश गरेको बताउँछन् उनी ।

शुरुमा आफ्नो परिचयसमेत नागरिकलाई दिन लजाउने राजुलाई सिटिजन लाइफ इन्स्योरेन्सले नाम, दामसहितको दिलाएको छ । उनी भन्छन्, ‘पहिला मलाई कसैले चिन्दैनथे । पैसा नि थिएन् । तर, सिटिजन लाइफमा आवद्ध भएपश्चात मैले नाम, दाम, इज्जत र सफल अभिकर्ताको परिचय पाएको छु ।’

मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा बीमा व्यवसाय गर्न निकै अप्ठ्यारो अवस्था रहेको छ । थुप्रै कम्पनीका ठूला–ठूला परिचित अभिकर्ताहरुलाई टक्कर दिएर सिटिजन लाइफका यादवले बीमा पोलिसी बिक्री गरिरहेका छन् । कतिपय अभिकर्ताहरुले खराब नियतले गरेका कामले अभिकर्ता पेशा प्रति नकारात्मक धारणाको विकास भएको उनको बुझाई छ ।

‘बजारमा केही अभिकर्ताहरुले मानिसहरुलाई राम्रोसँग बुझाउन नसक्दा मात्र समस्या आएको छ । नेपालमा थुप्रै अभिकर्ताहरु रहेका छन् । मान्छेहरुलाई राम्रोसँग बुझाउन सकेको अवस्थामा सहजै बीमा गर्न सकिन्छ ।’ यादव बताउँछन् ।

नागरिकहरुलाई झुक्याएर, विभिन्न लोभ लालच दिएर कहिल्यै पनि बीमा व्यवसाय नगरेको उनको भनाइ छ । नेपालमा रहेका लाखौं अभिकर्ता साथीहरुले राम्रोसँग बीमाबारे आफू पूर्ण रुपमा जानकार बनी नागरिकहरुलाई बुझाउँन सकेको अवस्थामा बीमा सम्बन्धि सबैखाले भ्रमहरु चिर्न सकिने उनको विचार छ ।

निरन्तर बीमा व्यवसायमा आवद्ध भएर गाउँसमाजका बालबालिका तथा नागरिकको बीमा गराई जीवन रक्षावरण गर्न सफल बीमा व्यवसायी हुन् । उनी भन्छन् ‘म बीमा गराउन बजारमा जाँदा नागरिकहरूले बीमा गर्नुभन्दा बैंकमा बचत गर्नु उचित हुने तर्क दिन्छन् । उहाँहरुलाई जीवन रक्षावरण हेतु बीमाको विकल्प नभएको कुरा राम्रोसँग बुझाएपछि मात्रै बीमा गर्न तयार हुनुहुन्छ । बैंकमा बचतमात्रै हुन्छ, तर बीमामा बचतका साथसाथै जीवन रक्षावरण पनि कुरा हुने स्पष्ट पारेपछि मात्रै नागरिक बीमा गर्न तयार हुन्छन् ।’

उनले नागरिकहरूलाई बीमाको लागि प्रस्ताव गर्दा शर्तमा रहेका कुराहरुमा स्पष्ट पारेर मात्र बीमा गराउने गरेको बताए । केही खराब आचरण र गलत नियत भएका अभिकर्ताका कारण व्यवसायिक अभिकर्ताहरुलाई केही अप्ठ्यारो पर्ने गरेको उनको धारणा छ ।

बजारमा धेरैले अभिकर्ता लाइसेन्स लिएका हुन्छन् । तर, नागरिकले विश्वासिलो, परिचित र व्यवसायिक अभिकर्तासँग मात्र बीमा गराउने गरेको यादवको बुझाई छ । ‘बीमा गराउँन नागरिकहरुलाई शर्तमा भएका कुराहरु मात्र उल्लेख गर्नुपर्ने हुन्छ । शर्त बाहेकका अनावश्यक कुराहरु भनेर बीमा गराउँदा पछि अप्ठ्यारो पर्ने र कम्पनीप्रति बीमितको धारण नकारात्मक पर्न जान्छ । त्यसैले शर्त वमोजिम नै बीमा गराउन आवश्यक छ ।’ उनले भने ।

नागरिकले बीमा दाबी भुक्तानीको समयमा भोग्नु परेका समस्याले गर्दा बीमा सम्बन्धी झन् नकारात्मक धारणा फैलिएको उनको बुझाइ छ । यादवका अनुसार अभिकर्ता भनेको कम्पनी र बीमितबीचको पुल हुन् । सफल र व्यवसायिक अभिकर्ता हुन् आफ्ना बीमितप्रति सँधै इमान्दार र उद्धार रहनुपर्ने उनको धारणा छ ।

कम्पनीले आफ्नो हरेक काममा साथ, सहयोग दिएको र आफूले पनि स–साना गरी छरिएर रहेको पूँजीलाई बीमा मार्फत संकलन गरी देश निर्माणमा समेत टेवा पु¥याउन पाउँदा खुशी लाग्ने गरेको सुनाइन् ।

मानिसको जीवनमा बीमाको महत्व धेरै नै हुन्छ । तर शिक्षा र चेतनाको अभावमा बीमा अझै गरीब र न्यून् आय भएका जनताको पहुँचमा पुग्न सकेको छैन । ‘नेपालको मात्र नभई विश्व बीमा बजार नै बीमा अभिकर्ता विना अपूर्ण छ । देशको दूर–दराजमा बीमाको दायरा बढाउन इमान्दार व्यवसायिक अभिकर्ता उत्पादन गर्न जरूरी छ । यस्ता कुरालाई नियमनकारी निकायले विशेष प्राथमिकतामा राख्नुपर्छ ।’ उनको परिवारमा श्रीमती, भाई, बहिनी र आमा–बुबा रहेका छन् ।

त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रमा फराकिलो दायरा वृद्धि गर्दै आफ्नो गाउभारिका सबै जनतालाई बीमा गर्ने लक्ष्य लिएको उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*