निरन्तरको गिरावटले आत्तिए लगानीकर्ताः अर्बौ लगानी जोखिममा हुँदा मनोबल कमजोर, दशैंको दबाब कति ?

१ आश्विन २०८१, मंगलवार १६:२९

काठमाडौँ । पुँजी बजार निरन्तर ओरालो यात्रामा लम्कि रहेको छ । स्वभाविक रुपमा बढेर भदौ २ गते ३०४८ बिन्दुमा पुगेको बजार भदौ ३१ गतेसम्म आइपुग्दा २५८० बिन्दुमा ओर्लिएको हो ।

निरन्तर उचाई कायम राखि रहेको बेला यसअघिको ३२ सय परिसूचकको रेकर्ड तोड्ने आश आम लगानीकर्तामा रहेको थियो । करेक्सन नै नभएर उकालो यात्रा तिर गइरहेको बजार अन्ततः निरन्तर घटी रहेको छ । यस गिरावटको परिणामस्वरूप धेरै लगानीकर्ताले अर्बौंको सम्पत्ति गुमाएका छन् । विशेषगरी, जब बजार उच्च बिन्दुमा पुग्ने अपेक्षामा लगानीकर्ताहरूले शेयर खरिद गरेका थिए, उनीहरूले अहिले ठूलो नोक्सान बेहोर्नु परेको छ ।

नेप्से इन्डेक्सले आफ्नो उच्च विन्दुबाट करिब ५० प्रतिशतको गिरावटको सामना गरिसकेको छ । विशेष गरी वाणिज्य बैंक र विकास बैंक समूहमा ५० प्रतिशतको करेक्सन आएको छ, जसले बैंकिङ क्षेत्रमा ठूलो असर पारेको छ ।

यसैगरी, फाइनान्स समूहमा ४५ प्रतिशतको गिरावट देखिएको छ भने लघुवित्त क्षेत्रमा ३८ प्रतिशतको करेक्सन आएको छ । जलविद्युत समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जहाँ ६० प्रतिशतसम्मको करेक्सन भएको छ । त्यस्तै, निर्जीवन बीमा र जीवन बीमा समूहमा करिब ५० प्रतिशतको कमी आएको छ । होटल र अन्य समूहमा करिब ६० प्रतिशतको गिरावट आएको छ भने उत्पादन समूहमा ७५ प्रतिशतको करेक्सन देखिएको छ। कारोबार समूहमा ५० प्रतिशत र म्यूचुअल फण्ड समूहमा २५ प्रतिशतले कमी आएको छ, जसले समग्र बजारमा चुनौतीपूर्ण अवस्था सिर्जना गरेको छ।

शेयर बजारको प्रमुख शत्रु मानिएको बैंक ब्याजदर हाल घटिरहेको छ, जसले पुँजी बजारमा सुधारको आशा पैदा गरेको थियो । असोज महिनामा मात्रै नौ वटा बैंकले ब्याजदर घटाएका छन्, जसको प्रत्यक्ष प्रभाव पुँजी बजारमा पर्नु स्वाभाविक थियो । तर, यसले पनि बजारमा सकारात्मक परिवर्तन ल्याउन सकेको छैन । बैंकिङ प्रणालीमा तरलता सहज हुँदा पनि नेप्सेमा यसको प्रभाव प्रतिविम्बित हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले थप तरलता व्यवस्थापनका लागि दिनहुँजसो पैसा खिचिरहेको छ । यस्तो अवस्थामा पनि शेयर बजारले अपेक्षित सुधार देखाउन नसक्नु पुँजी बजारका लागि थप चुनौती बनेको छ ।

लगानीकर्ताको कमजोर मनोबल र दशैंको खर्च

पुँजी बजारको हालको गिरावटले लगानीकर्ताहरूको मनोबल निकै कमजोर बनाएको छ । उचाई कायम गर्ने आशले परिसूचक २९०० र ३००० हुँदा शेयर खरिद गर्ने लगानीकर्तामा हैरानी उत्पन्न भइरहेको छ ।

विशेषगरी, दशैंको समयमा परिवार खर्चको जोहो गर्नुपर्ने अवस्थाले गर्दा धेरै लगानीकर्ताले आफ्नो शेयर बिक्री गरिरहेका छन् । प्रत्येक वर्ष झै यो वर्षपनि खर्च जोहो गर्ने लगानीकर्ता झुम्मिएका छन् । यसले बजारमा थप गिरावटको सम्भावना बढाएको छ ।

शेयर बजारको अनिश्चितताले लगानीकर्ताको मानसिकतामा नकारात्मक प्रभाव पारेको छ, जसका कारण उनीहरू अब शेयर राख्नुभन्दा बिक्री गर्नतर्फ बढी हाबी भएका छन् । यो अवस्थामा बजारले अझै तल जाने अनुमान गरिएको छ ।

शेयर बजार घट्दै गर्दा, लगानीकर्ताले आफ्नो रणनीतिमा परिवर्तन गर्दै साना वा ठूला जोखिमको विचार गरेर अगाडि बढ्नुपर्ने देखिएको छ । खासगरी, साना लगानीकर्ताले बजारको स्थिति अनुगमन गर्दै आफ्नो लगानी रणनीति समायोजन गर्नु नै उपयुक्त मानिएको छ ।

ठूला र संस्थागत लगानीकर्ताको भूमिकामा कमी

बजार विश्लेषकहरूको भनाइ अनुसार नेप्से परिसूचकमा देखिएको गिरावटको पछाडि मुख्य कारण भनेको ठूला र संस्थागत लगानीकर्ताहरूको सक्रिय सहभागितामा कमी हुनु हो । उनीहरूले अझै पनि आक्रामक रूपमा बजारमा प्रवेश नगर्दा, बजारमा थप गिरावट देखिएको छ । साना लगानीकर्ताहरूको खरिदबाट मात्र बजारलाई माथि लैजान सकिँदैन, जबसम्म ठूला र संस्थागत लगानीकर्ताहरू प्रवेश गर्दैनन् ।

बिक्री दबाबलाई केवल संस्थागत लगानीकर्ताहरूले मात्र व्यवस्थापन गर्न सक्छन्, किनकि उनीहरूको लगानीको क्षमता ठूला हुन्छ । ठूला लगानीकर्ताहरू बजार प्रवेश गरेपछि नेप्सेले गति लिने अनुमान गरिएको छ ।

हाल मूल्य सस्तो हुँदा, उनीहरू जुनसुकै बेला बजारमा प्रवेश गर्न सक्छन् । प्रायः ठूला लगानीकर्ताहरूले सस्तोमा किनेर महँगोमा बेच्ने रणनीति अपनाउँछन् र यही कारण बजारको गतिमा सुधार आउने सम्भावना पनि रहेको आंकलन भइरहेको छ ।

२५०० बिन्दुमा नेप्सेः लगानीकर्ताको चिन्ता

नेप्से परिसूचकले २५०० बिन्दुमा झरेपछि लगानीकर्ताहरूको चिन्ता अझ गहिरिएको छ । सूचक मात्र होइन, कारोबार रकम पनि सुस्त रहेको छ । यसअघि नेप्से ३००० बिन्दुसम्म पुगेको थियो, तर छोटो अवधिमै २५०० बिन्दुमा झरेको हो । धेरै लगानीकर्ताले उच्च बिन्दुमा शेयर खरिद गरेकाले उनीहरूले ठूलो घाटा बेहोर्नु परेको छ ।
तर, बजारले मूल्य सस्तो हुँदै जाँदा पुनः कारोबार बढ्ने सम्भावना राखेको विश्लेषकहरूको भनाइ छ । शेयर बजार भनेको लगातार बढ्ने वा घट्ने ठाउँ होइन । यसमा उतारचढाव हुनु सामान्य प्रक्रिया हो । बजारको नियमितता र यसका सिद्धान्तहरूलाई ख्याल गरेर लगानीकर्ताले आफूलाई सुरक्षित राख्न सकिन्छ । कहिले किन्ने र कहिले बिक्री गर्ने भन्ने योजना स्पष्ट भएमा, दैनिक उतारचढावले लगानीकर्तालाई प्रभावित गर्न सक्दैन ।

बजारले जब करेक्सन पूरा गर्छ, त्यसपछि पुनः वृद्धिको सम्भावना रहन्छ । शेयर बजार जहिले पनि आफ्नै नियम र सिद्धान्तमा चलेको हुन्छ। यसर्थ, लगानीकर्ताहरूले यसलाई बुझेर उचित रणनीतिसहित अगाडि बढ्नुपर्छ ।

नियामक निकायहरूको सुस्तता

शेयर बजार ओरालो लाग्नुमा नियामक निकायहरूको सुस्ततालाई प्रमुख कारणको रूपमा हेरिँदैछ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारप्रति सकारात्मक रहेको बताएका छन् तर व्यवहारिक रूपमा सुधारका लागि ठोस कदम चालिएको छैन ।

नेपाल राष्ट्र बैंकले शेयर बजारलाई बाधा गर्ने भनिएका केहि विषयमा सुधारको कदम चालेको देखिएको छैन । विशेषगरी, सेयर धितो कर्जा र बजार सुधारसँग सम्बन्धित नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसक्दा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ । यसले शेयर बजारमा अस्थिरता र गिरावटको अवस्था सिर्जना गरेको छ ।

यता, नेपाल धितोपत्र बोर्ड ९ महिनाभन्दा बढी समयदेखि नेतृत्वविहीन छ, जसले शेयर बजारमा थप अनिश्चितता निम्त्याएको छ । लगानीकर्ताको अभिभावक संस्थाको अभावमा बजारमा आवश्यक नियमन र सुधारका प्रयासहरू प्रभावित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*