सर्वोच्च बारका पूर्वअध्यक्ष राउत प्रधानन्यायाधीश सिफारिस, के हो उनको विज्ञता ?

१ आश्विन २०८१, मंगलवार ०९:१४

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठताका आधारमा प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदमा विपक्षीको बहुमत भएका कारण सत्ता गठबन्धनले आफु अनुकुलको निर्णय लिन नसकेपछि वरिष्ठतम् न्यायाधीश राउतको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

परिषदको बैठक र निर्णय प्रक्रियामा सहभागि भएसँगै उपसभामुख इन्दिरा रानामगरविरुद्ध सत्ता गठबन्धनले लगाएको अनुचित कार्यको आरोप हाललाई मथ्थर भएको छ । अर्कोतिर संसदको बर्खे अधिवेशन समेत अन्त्य भइसकेकाले तत्काललाई उनीविरुद्धको संदीय कारबाही समेत टरेको छ ।

संवैधानिक परिषदको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर र प्रमुख विपक्षी दलका नेता प्रचण्ड सहभागि हुनुहुन्थ्यो ।

गएको २० गते न्याय परिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ जनाको नाम सिफारिस गरेको थियो । जसमा राउतसहित, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम समावेश थियो ।

वरिष्ठताका आधारमा सिफारिस राउतले संसदीय सुनुवाईको सामना गर्नु पर्नेछ । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । संसदीय सुनुवाईका क्रममा कुनै तलमाथि भएन भने राउत सर्वोच्च अदालतको ३२औँ प्रधानन्यायाधीश हुनेछन् ।

को हुन् राउत ?
२०१७ साल चैत १८ गते उदयपुरमा जन्मिएका ६३ वर्ष पुगे । प्रधानन्यायाधीशको उमेरहद ६५ वर्ष तोकिएको छ । उमेरहदका कारण उनले आगामी २०८२ चैत १८ गतेसम्म न्यायपालिकाको नेतृत्व सम्हाल्नेछन् ।

राउत २०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपाल ल कलेजबाट कानूनमा स्नातक गरेका छन् । राउतले २०४० सालदेखि २०७३ सालसम्म करिब ३३ वर्ष अधिवक्ताको रुपमा बहस पैरवी गरे । उनको देवानी, फौजदारी, संवैधानिक मुद्दाहरुमा विषयविज्ञता छ ।

राउतले विभिन्न सार्वजनिक संस्थान र निजी संस्थामा कानूनी सल्लाहकारका रुपमा पनि काम गरेको अनुभव छ । नेपाल बार एशोसिएशनमा संवैधानिक समिति संयोजकका रुपमा रमेत राउतले काम गरेका थिए । उनी २०६३ देखि २०६५ सालसम्ममा सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्ष थिए ।

कानून व्यवसायीहरुको छाना संगठन नेपाल बार एशोसिएशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार राउत बार र बेन्च राम्ररी बुझेका न्यायमूर्ति हुन् । घिमिरेले बार र बेन्चबीचको सम्बन्धबारे जानकार व्यक्ति प्रधानन्यायाधीश हुँदा आपसी सम्बन्ध बलियो हुने समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*