कुमारी र नबिल बैंक २७ लाख बढी कित्ता शेयर बिक्री गर्दै, मूल्य कति?

३१ भाद्र २०८१, सोमबार १३:००

काठमाडौं । कुमारी बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले २७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राख्ने भएका छन् । कुमारी बैंकले २४ लाख २२ हजार ५४८ कित्ता र नबिल बैंकले ३ लाख कित्ता शेयर बिक्रीमा राख्ने भएका हुन् ।

उक्त शेयरहरू विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण वा संघसंस्थाहरूले पनि किन्न पाउँछन् । कुमारी बैंकले प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँ तोकेको छ भने नबिल बैंकले प्रतिकित्ता ३०७ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ । यी शेयरहरू खरीद गर्न आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिन्छ ।

बैंकहरूले सो शेयर असोज २ गतेदेखि बिक्री खुला गर्ने जनाएका छन् । शेयर किन्न इच्छुक लगानीकर्ताहरूले तोकिएका शर्तको अधीनमा रही काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराईज क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र असोज १६ गते अपरान्ह ३ बजेसम्म पेश गर्न सकिनेछ ।

शेयर खरीदका लागि परेको बोलपत्रहरू असोज १८ गते बिहान ११ बजे बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलको कार्यालयमा खोलिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*