सेबोनले रोकिएको आइपीओ प्रक्रिया अघि बढाउँदै, कमजोर नेटवर्थ भएका कम्पनीहरूको फाइल प्रतीक्षामा

३० भाद्र २०८१, आईतवार १३:३४

काठमाडौँ । लामो समयसम्म रोकिएर बसेको आइपीओ निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यबाहक अध्यक्ष महेश बरालले अब आइपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको आइपीओ फाइल अगाडि बढाउने बताएका हुन् ।

आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष बरालले भने, ‘लामो समय रोकिएर बसेको आइपीओका फाइल हामीले अघि बढाएका छौं । अझै नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको हकमा भने पर्ख र हेरको अवस्थामा नै छौं ।’

कम्पनीहरूको वित्तीय अवस्था अध्ययन गरेर स्वीकृतका लागि अगाडि बढाइएको उनको भनाइ रहेको छ । विशेषगरी, वित्तीय अवस्थामा कमजोरी भएका कम्पनीहरूलाई बोर्डले थप अध्ययन र परीक्षण गरेर मात्रै निर्णय लिने योजना बनाएको छ ।

आइपीओका लागि बढ्दो माग

आइपीओ अनुमतिका लागि बोर्डमा दर्जनौं कम्पनीका फाइल आइपुगेको उनले बताए । बरालका अनुसार गत चैतसम्ममा ३५ कम्पनीहरूले १७ करोड ३ लाख ३४ हजार कित्ता आइपीओ निष्कासनका लागि २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार रुपैयाँको आवेदन दिएको हो । त्यसपछि पनि थप निवेदनहरू परिरहेकाले आइपीओमा लगानी गर्न चाहने लगानीकर्ताको चासो अझै बढ्दो छ । उनले आइपीओको प्रक्रियामा परेको ढिलाईको प्रमुख कारण संस्थागत नेतृत्वको अभाव रहेको स्पष्ट पारे ।

‘लामो समयदेखि अध्यक्ष नहुँदा फाइलहरू सम्बन्धित विभागमा रोकिएका थिए’ उनले भने, “अब वित्तीय अवस्था हेरेर फाइलहरू अगाडि बढाउने काम सुरु भएको छ । छिट्टै लगानीकर्ताले शेयरमा आवेदन दिन पाउनेछन् ।’

नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको प्रतीक्षाको अवस्था

हाल, नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको फाइल अगाडि नबढाउने तयारी सेबोनले गरेको अध्यक्ष बरालले बताए । लेखा समितिको निर्देशन पालना गर्दै बरालले कम नेटवर्थ भएका कम्पनीहरूको फाइललाई हालका लागि ’पर्ख र हेर’को स्थितिमा राखिएको बताए ।

अध्यक्ष बरालले कम्पनीहरूको वित्तीय क्षमता र बजारमा उनीहरूको प्रभावका आधारमा आइपीओ फाइलहरू प्रक्रिया गर्नेतर्फ सेबोन अघि बढ्ने जनाएका छन् । यसले बजारमा कम्पनीहरूको सही मूल्याङ्कन गर्दै, लगानीकर्ताहरूको विश्वासलाई कायम राख्न मद्दत गर्नेछ । साथै, उनले लगानीकर्तालाई जोखिम न्यूनिकरण गर्नका लागि सेबोनले थप कडाइका साथ नियमहरू कार्यान्वयन गर्ने योजना बनाएको पनि बरालले बताए ।

बरालले सेबोनको वर्तमान व्यवस्थापनले आइपीओ बजारलाई स्वस्थ बनाउँदै पारदर्शी र उत्तरदायी व्यवस्थापन गर्न चाहेको उल्लेख गरे । उनले सेबोनको प्रमुख लक्ष्य लगानीकर्ताको सुरक्षासँगै, देशको पूँजी बजारलाई सुदृढ बनाउनु रहेको पनि बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*