कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले कोही पनि सरुवा, बढुवा वा अरू कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गरे । उनले आफ्नो रुचि र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताए । सरकारले लिएको राजस्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गरे । उनले आन्तरिक राजस्व रणनीति कार्यान्वयनका लागि जोड दिए ।
‘हामीले भर्खरै आन्तरिक राजस्व रणनीति परिचालन गरेका छौं । यो रणनीति कार्यान्वयनको प्राथमिकतामा रहनेछ । रणनीति कार्यान्वयनमा जोड दिनुहोला,’ उनले भने ।
उपप्रधानमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताए । लक्षित राजस्व लक्ष्य सम्पूर्ण रूपमा पूरा गर्न पनि निर्देशन दिए ।