संयुक्त राष्ट्रसंघ महासभाको ७९औं सत्र शुरू

२७ भाद्र २०८१, बिहीबार ०९:२४

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९औं सत्र बुधबार सेप्टेम्बर ११ देखि न्युयोर्कमा औपचारिक रूपमा शुरू भएको छ । ७८औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औं सत्रका अध्यक्ष तथा क्यामरुनका पूर्व प्रधानमन्त्री फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि औपचारिक रूपमा सत्र शुरू भएको हो ।

अध्यक्ष यङ्गले सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दीगो विकासको धिमा गति लगायतका अन्य विश्वव्यापि चुनौतीसँग लड्न विविधताबीचको एकताका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरे ।

उनले शान्ति, सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै गाजा क्षेत्र, हैटी, रूस, युक्रेन लगायतका क्षेत्रमा जारी हिंसाको अन्त्यका लागि पहल गर्न आग्रह समेत गरे ।

संयुक्त राष्ट्रसंघका महासविच एन्टोनियो गुटेरेसले पनि सत्रको सम्बोधन गर्दै संकले घेरिएको विश्वको समस्या समाधान गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।

महासभामा उच्चस्तरीय छलफल असोज ८ देखि ५ दिन चल्ने बताइएको छ । महासभाकै दौरान यस पटक ‘समिट अफ द फ्युचर’ पनि हुनेछ । महासभामा भाग लिन २२ सदस्यीय प्रतिनिधिमण्डल सहित प्रधानमन्त्री केपी शर्मा ओली न्युर्याेक जाने तयारीमा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*