ठमेलको छाँयासेन्टर सुन तस्करहरुको अखडा, क्यासिनोको सीसीटीभीमा देखिए मुख्य आरोपी
काठमाडौं । ऐतिहासिक कमल पोखरी तथा विक्रमशिल महाविहार मासेर गैरकानूनी रुपमा ठड्याइएको ठमेलस्थित छाँयासेन्टर सुन तस्करहरुको अखडा बनेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेसँगै यो रहस्यको थप पुष्टि भएको हो ।
सुन तस्करीमा संलग्न चिनिया नागरिक टिएस छाँया सेन्टरमा रहेको क्यासिनो वाल्डोमा प्रबन्धकका रुपमा कार्यरत थिए । सीआईबीका प्रमुख दिपक थापाका अनुसार टिएसईलाई अदालत उपस्थित गराएर बयान सुरु भइसकेको छ ।
सीआईबीको अनुसन्धानमा टिएसई सुन तस्करीमा अन्य चिनियाँ तीस्कर समूहसँग र ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी याओ पुचिङसँग नियमित सम्पर्कमा देखिएको र सुन तस्करहरु नियमित क्यासिनोमा आउजाउ गरेको भेटिएको छ ।
सुन तस्करीको छानविन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले पनि टेरेन्सविरुद्ध अनुसन्धान गरी मुद्दा चलाउन भनी सिफारिस गरेको थियो । अनुसन्धानका क्रममा सीआईबीले क्यासिनोको सीसीटीभी फुटेज समेत बरामद गरेको थियो । छाँया सेन्टरमा रहेको क्यासिनोबाट बरामद सीसीटीभी फुटेजमा सुन तस्करीका मुख्य आरोपीलगायतहरु आउजाउ गरेको देखिएको सीआईबी प्रमुख थापाले बीमापोष्टलाई जानकारी दिए ।
सुन तस्करीको अखडा बनिरहेको छाँया सेन्टर गैरकानूनी रुपमा पर्ति एवं गुठीको जग्मामा बनेको भन्दै सर्वोच्च अदालतमा विभिन्न मुद्दाहरु विचाराधीन छन् । सम्पदा संरक्षणकर्मीहरुका अनुसार सर्वोच्च अदालतको अन्तिम फैसलामा छाँया सेन्टर भत्काउने परमादेश आउनसक्ने प्रवल सम्भावना छ ।