होन्डाका सवारी एसेम्बल गर्ने हिमाल मोटोलाई जोखिमयुक्त रेटिङ, ऋणदबाब र विद्युतीय लोकप्रियता मुख्य चुनौती
काठमाडौँ । हिमाल मोटो नेपाल प्रालिलाई इक्रा नेपालले लामो अवधिको ऋण सीमा [ICRANP] LBB र छोटो अवधिको ऋण सीमा [ICRANP] A4 को रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय जोखिमलाई औंल्याएको हो ।
हिमाल मोटो नेपालले हुण्डा ब्रान्डका दुईपांग्रे सवारीसाधनहरूको एसेम्बल गरिरहेको छ, जुन नेपालमा स्याकार ट्रेडिङ कम्पनी प्रालि मार्फत बिक्री गरिदै आएको छ ।स्याकार ट्रेडिङ कम्पनी पनि ज्योति समूहकै सहायक कम्पनी हो, जुन हुण्डा ब्रान्डका दुईपांग्रे सवारीसाधनहरू, निजी सवारीसाधनहरू र पावर प्रोडक्टहरूको आधिकारिक वितरकका रूपमा लामो समयदेखि काम गर्दै आएको छ।
रेटिङले कम्पनीका प्रवर्द्धकहरूको नेपालका अटोमोबाइल डिलरशिप उद्योगमा अनुभवलाई उच्च मूल्यांकन गरेको छ। साथै, हुण्डा ब्रान्डका दुईपांग्रे सवारीसाधनको माग दृष्टिकोण र बजार हिस्सा र हुण्डा डियो स्कुटरको सफल परीक्षण एसेम्बल सम्पन्न भएकोले सकारात्मक रूपमा मूल्यांकन गरिएको छ ।
तर, यो परियोजनाले प्रारम्भिक वर्षहरूमा स्थिरता जोखिमहरूको सामना गर्नुपर्नेछ जसले गर्दा उच्च ऋणको दबाबका कारण मार्जिन र कभरेज मेट्रिक्सलाई चुनौतीको सामना गर्नुपर्ने हुन सक्ने इक्रा नेपालले जनाएको छ । कम्पनीको ठूलो मात्रामा ऋणमा आधारित पूंजीगत खर्च (लगभग ७६ प्रतिशत ऋण वित्त पोषण) तथा स्कूटर सेग्मेन्टमा बढ्दो प्रतिस्पर्धा र विद्युतीय स्कूटरहरूको लोकप्रियता बढ्दो भएकाले कम्पनीको राजस्व प्रवृत्तिमा असर पर्न देखिएको हो ।
हिमाल मोटो नेपालको राजस्व स्याकारको राजस्व प्रवृत्तिमा निर्भर रहने हुँदा, यसको उत्पादन एकाग्रता जोखिम उच्च रहिरहने देखिएको छ । कम्पनीले वित्तीय स्थायित्व कायम राख्न र पर्याप्त राजस्व/मार्जिन रिपोर्ट गर्नका साथै कुनै पनि आकस्मिक अवस्थाहरूमा प्रवर्द्धकहरूबाट समयमै सहयोग प्राप्त गर्न सक्नु पर्ने इक्राले जनाएको छ ।
हिमाल मोटो नेपाल प्रालिले रूपन्देही जिल्लामा हुण्डाका दुईपांग्रे सवारीसाधन (मुख्यतया स्कुटरहरू) को एसेम्बल प्लान्ट निर्माण गरिरहेको छ ।