चार हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

२५ भाद्र २०८१, मंगलवार १०:३१

काठमाडौं । लाभांशको सिजनको सुरु भएसँगै गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट चार हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्से सूचीकृत ९१ हाइड्रोपावर कम्पनीमध्ये हालसम्ममा भगवती हाइड्रोपावर ,सुपर माई हाइड्रोपावर, माण्डु हाइड्रोपावर र अपि पावर कम्पनीले लाभांश घोषणा गरेका हुन ।

यी चार कम्पनीमध्ये सुपर माई हाइड्रोपावर कम्पनीले पहिलो पटक लाभांश दिन थालेको हो । यस कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ५ दशलमव ६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै यी कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश भगवती हाइड्रोपावर कम्पनीले कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले लाभांशदर बढाएको छ । अघिल्लो वर्ष कम्पनीले १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

गत वर्षको प्रस्तावित लाभांश पारितका लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा आयोजना गरेको छ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा भदौ ३१ गते सम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउनयोग्य हुनेछन् ।

त्यस्तै माण्डु हाइड्रोपावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीले पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष लाभांशदर बढाएको छ । अघिल्लो वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत नगद लाभांश दिएको थियो । गत वर्ष प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले असोज १४ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा भदौ ३० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभाशं पाउन योग्य हुनेछन् ।

त्यस्तै अपि पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस अपि पावर र सुपर माई हाइड्रोपावर कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेका छैनन् ।

गत आवको साधाण सभा बोलाएका बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर र मोलुङ्ग हाइड्रोपावरले भने कुनै पनि लाभांश प्रस्ताव छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*