साधारण सभा सकेर प्रतिवेदन पेश गर्न सहकारीलाई काठमाडौँ महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहकारी संस्थाहरूलाई नियमनमा ल्याउन कडाइ गर्न थालेको छ। आज जारी गरिएको सूचनामा महानगरपालिकाले आगामी पुस मसान्तभित्र साधारण सभा सम्पन्न गरी, त्यसको १५ दिनभित्र साधारण सभाबाट पारित प्रतिवेदन महानगरपालिकाको सहकारी विभागमा पेश गर्न निर्देशन दिएको हो ।
सहकारी ऐन, २०७४ को दफा ३९ (२), काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ (२), एवं दफा १०४ बमोजिम सहकारी संस्थाहरूलाई यसो गर्न निर्देशन दिइएको महानगरपालिकाले बताएको छ। सूचनामा भनिएको छ, “काठमाडौंँ महानगरपालिकाभित्र मात्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरूले २०८१ पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी, साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारण सभाबाट पारित प्रतिवेदन काठमाडौँ महानगरपालिका सहकारी विभागमा बुझाउन हुन अनुरोध गरिन्छ।”
महानगरपालिकाले केही दिनअघि पनि एक सूचना जारी गर्दै सहकारीसम्बन्धी गुनासोहरू बढ्दै गएको भन्दै वडा कार्यालयहरूमा नै उजुरी तथा गुनासो दर्ता गर्न आग्रह गरेको थियो। पछिल्लो समय बचत रकम फिर्ता मागसम्बन्धी बचतकर्ताहरूको गुनासो दिनानुदिन बढ्दै गएकाले महानगरपालिकाले वडामा नै गुनासो दर्ता गर्न भनेको हो।