बैंकिङ कसुर तथा सजाय विधेयक २०८१ अर्थ समितिबाट पारित
काठमाडौँ । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोड भन्दा बढी चेक अनादर प्रमाणित भए ४ वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिबाट पारित भएको हो ।
आईतवार नै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने सहमति भएको थियो । समितिमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँ दुई वष र १० करोड भन्दा माथि ४ वर्ष कैद सजाय हुने सहमतिसँग विधेयक पारित भएको बताए ।
उनले समिति बैठकले चेक अनादरको मुद्दामा १० करोड रुपैयाँ भन्दा माथिको विगोमा २ वर्षदेखि ४ वर्ष कैद सजाय थप गरिएको बताए । समितिमा सांसदहरुले ठूलो रकमको विगो भएको मुद्दामा सजाय धेरै हुनुपर्ने माग पश्चात १० करोड भन्दा माथि विगोमा चार वर्ष कैद सजाय थप गरी विधेयक पारित भएको छ ।