एक लाखभन्दा बढीको बीमाशुल्क भुक्तानी नगदमा नगर्न सूर्यज्योति लाइफको आग्रह
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले एक लाख रुपैयाँभन्दा बढी रकमको दाबी भुक्तानी नगदमा नगर्न आग्रह गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै एक लाखभन्दा बढी रकमको बीमाशुल्क भुक्तानी चेक, अनलाईन वा अन्य बैंकिङ्ग प्रणालीबाट मात्र गर्न भनेको हो ।
साथै रकमको भुक्तानी भइसकेपछि मोबाइलमा कारोबार सम्पन्नको मेसेज आए नआएको यकिन गर्न समेत सजग गराएको छ । बीमालेख धितो बापत कर्जा लिएको भए कर्जाको ब्याज समयमै तिर्न पनि भनिएको छ । समयमै कर्जा भुक्तानी नभएको खण्डमा कम्पनीका नियमानुसार बीमालेख कर्जा तथा ब्याज सम्बन्धी शर्तहरू लागू हुने पनि स्पष्ट पारेको छ ।
साथै बीमालेख र कम्पनीबाट प्रवाह हुने महत्वपूर्ण जानकारीहरू सम्बन्धित बीमितको मोबाइल वा इमेल मार्फत दिइने भएकाले आफ्नो मोबाइल नम्बर, इमेल, स्थायी तथा अस्थायी ठेगाना इत्यादि कम्पनीमा रहेको विवरणसँग दुरुस्त मिलेको हुनुपर्ने बताएको छ । यदि विवरण अन्यथा परेको खण्डमा विवरण अद्यावधिक गर्न कम्पनीमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।