ढोरपाटनमा शिकारका लागि टेण्डर, १२ नाउर, ८ झारल मात्रै मार्न पाइने
काठमाडौं । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारका लागि टेण्डर आह्वान भएको छ । शिकार याम सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको हो ।
यस आर्थिक वर्ष २०८१/८२ को पहिलो सिजनका लागि १२ वटा नाउर र ८ वटा झारलको शिकार गर्न टेण्डर खुलाइएको विभागले जनाएको छ । विभागका व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार टेण्डरको म्याद १५ दिन हुन्छ । यसका सबै प्रक्रिया पूरा गरिसकेपछि असोजदेखि शिकार सुरु हुन्छ । शेर्पाका अनुसार सबै प्रक्रिया पूरा गर्न २५ दिन जति लाग्छ ।
सबैभन्दा बढी रकम कबोल गरेको आधारमा शिकार गराउने संघ संस्था छनोट गरिन्छ । टेण्डर हात पारेको संघसंस्थाले शिकारमा सोख भएका विदेशी पर्यटकलाई शिकार खेल्न ढोरपाटन लैजाने गर्दछ । अहिलेसम्म शिकार खेल्नेहरु विदेशी पर्यटकहरु मात्र सहभागि भएका छन् ।
ढोरपाटन क्षेत्रमा हरेक वर्ष पहिलो सिजन (असोज-मंसिर) र दोस्रो सिजन (फागुन-वैशाख)मा शिकार हुँदै आएको छ । विदेशी शिकारीसहितको समूहले शिकार खेल्न कम्तिमा १५ दिन जङ्गलमा बिताउँछन् । तोकिएको अवधिभित्र शिकार गर्न नसके शिकारी खाली हात फर्कनुपर्ने नियम छ ।
नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, अनुमतिपत्र, बन्दोबस्तीका सामग्री तयार गर्दा एउटा शिकारीले करिब २० लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । ढोरपाटन शिकार आरक्षको स्थापना २०४४ सालमा भएको हो । यो आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लासम्म फैलिएको छ । मुख्य कार्यालय भने बागलुङको ढोरपाटनमा पर्छ । आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्मसमेत राखिएको छ ।