सेटिङमा अयोग्यलाई टेलिकमको एमडी बनाउन पूर्वराष्ट्रपति भण्डारीको नाम भजाइँदै

१८ भाद्र २०८१, मंगलवार १०:१५

काठमाडौं । अयोग्य व्यक्तिलाई सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्त गर्न विचौलियाले पहुँचको व्यापक दुरुपयोग गरिरहेको खुलासा भएको छ । पहुँचको भरमा अयोग्य व्यक्तिलाई एमडी बनाउन विचौलियाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेतको नाम लिएर सञ्चारमन्त्रीलाई दबाब दिएको खुलासा भएको हो ।

विगतमा मन्त्री खाँदा प्राय रक्षा रोज्ने विद्यादेवी भण्डारीको रक्षामन्त्री कार्यकालमा नेपाली सेनाको पोषाक लगायत विभिन्न ठेक्का हत्याएका पूर्व रंगकर्मी एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका कान्छाभाई लोकेन्द्र कार्कीले भण्डारीको नाम लिएर सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफूले भनेको व्यक्तिलाई टेलिकमको एमडी बनाउन तीव्र दबाब दिएका हुन् । कार्की पूर्वराष्ट्रपति भण्डारीको फूपुका छोरा हुन् भने दुबैका परिवार एवं नातेदारको आर्मी र राणा खलकसँग परिवारिक सम्बन्ध रहेको बताइन्छ । उनी पूर्व रंगकर्मी समेत हुन् । उनले एक दुईटा चलचित्रमा समेत अभिनय गरेका छन् ।

एमडी नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २२ जेठमा दरखास्त आह्वान गरेकामा १७ जनाले आवेदन दिएका थिए । १७ जनाको सूचीबाट योग्यहरुको फाइल लुकाउन लगाएर कार्की तत्कालीन सञ्चारमन्त्री रेखा शर्मा र तत्कालीन सञ्चारसचिव रामकृष्ण सुवेदी तीनै जनाले आ-आफ्ना मान्छेहरुको मात्रै राखेर खामबन्दी गरेका थिए ।

तत्कालीन सञ्चारसचिव सुवेदी नेतृत्वमा गठित सिफारिस समितिले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माका साथी विमल आचार्य, सिफारिस समिति संयोजक सुवेदी स्वयंमका साथी अनिलकुमार झा र कार्की निकटस्थ संगीता पहाडीको नाम छानेर खामबन्दी गरेको थियो । विचौलिया र ठेकेदारको थेगिनसक्नु दबाबले नियुक्तिको फाइल मन्त्रिपरिषदमा पुगेको छैन । एमडीको तीव्र लविङ्मा सबैभन्दा अगाडि ठेकेदार कार्की छन् । रक्षातर्फ साम्राज्य जमाइसकेका कार्कीले वहालवाला रक्षामन्त्री मानवीर राई समेतलाई वाइपास गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, भण्डारी नजिकका एमाले महासचिव शंकर पोखरेल र बालुवाटारतिर दौडधूप बढाएका छन् ।

कार्कीले एमडी बनाउन खोजेको संगीता अहिले पनि नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक हुन् भने उनका श्रीमान विश्वबन्धु पहाडी नेपाली सेनाका कर्णेल हुन् । प्रचण्ड नेतृत्वको सरकारका पालामा सिफारिस भएकाहरुको फाइल अघि नबढाउन सञ्चारमन्त्री गुरुङलाई दबाब आएको थाहा पाएपछि कार्की निरन्तर शक्तिकेन्द्र धाइरहेका छन् । त्यो बेला तत्कालीन प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालसम्मलाई प्रभावमा पारेर यी तीनै जनाले १७ जनामध्ये १४ उम्मेदवारलाई प्रतिस्पर्धामै आउन दिएका थिएनन् भने अहिले पनि पुरानै सिफारिसमध्येबाट एमडी नियुक्त गर्न तीव्र दबाब दिइरहेका छन् ।

सञ्चार मन्त्रालयले दबाब खेप्न नसकेपछि नयाँ प्रक्रियामा गएर एमडी छनोट गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको छ । महान्यायाधिवक्तालाई मन्त्रालयले राय मागेको कुरा थाहा पाउनासाथ कार्की र संगीताका श्रीमान् कर्णेल विश्वबन्धु महान्यायाधिवक्ता बडालकहाँ पुगेर लविङ गरेका बताइएको छ ।

तर, महान्याधिवक्ता बडालले यो विवादित भइसकेकाले अब नयाँ प्रक्रियामा गएर एमडी छनोट गर्नुपर्ने राय पठाउने तयारी भइरहेको बताएका छन् । वाणिज्य कानूनका जानकार डा. रुद्र शर्माले समेत अफ्ठेरो परेकै कारण सरकारले महान्यायधिवक्तासँग राय मागेको हुनसक्ने बताए । उनले भने, ‘सहज अवस्था थियो भने पहिले कै सिफारिस अघि बढाउन राय मागिरहनु पर्ने होइन । अफ्ठेरो अवस्था भएकै कारण सरकारले राय मागेको हुनुपर्छ । यसमा महान्यायाधिवक्ताले कानूनलाई टेकेर सुझबुझपूर्ण राय दिनु पर्ने हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*