सलिकोमा लुम्बिनीका कर्मचारी पीडित भएको भन्दै बीमा प्राधिकरणमा उजुरी, अध्यक्ष सिलवालले नै संरक्षण गरेको आरोप

१७ भाद्र २०८१, सोमबार १२:४५

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा कार्यरत मर्जर अघिका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारी माथि सिईओ चंकी क्षेत्री र अध्यक्ष मनोहर दास मुलले अन्याय गरेको भन्दै पीडित कर्मचारीहरूले नियामक नेपाल बीमा प्राधिकरणमा लिखित उजुरी दिँदा पनि अध्यक्ष सिलवालले कुनै सुनुवाई नगरी उल्टै पीडकलाई संरक्षण गरेको आरोप पीडितहरूले लगाएका छन् ।

बीमापोष्टलाई प्राप्त कागजातमा पीडित कर्मचारीहरूले २०८१ जेठ १८ गते बीमा प्राधिकरणमा उजुरी दर्ता गरेका थिए । अध्यक्ष सुर्य प्रसाद सिलवाललाई सम्बोधन गरेर दर्ता गरेको उजुरी माथि हालसम्म पनि कुनै कारवाही नभएको पीडित कर्मचारीहरूको गुनासो छ ।

दर्ता नं १५०२२ मा दर्ता भएको उजुरीमा मर्जर अघिको सगरमाथा इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरूलाई सिईओ चंकी क्षेत्रीले उचालेर लुम्बिनी जनरल इन्स्योरेन्सका कर्मचारीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेर बोनस तथा सुविधा कटौती गर्न अभियान चलाएको आरोप छ । पीडित कर्मचारीहरूले सगरमाथा इन्स्योरेन्समा कार्यरत रही हस्ताक्षर अभियानको प्रमाण सहितको उजुरी दिँदा समेत बीमा प्राधिकरणबाट कुनै कारवाही नभएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

घटना के हो?

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्जर भई सलिको बनेको हो । मर्जरपछि आव २०७९।८० को वित्तीय विवरण अनुसार कर्मचारीलाई दिने बोनसमा विवाद उत्पन्न भयो । मर्जर भइसकेपछि सलिकोका कर्मचारीलाई एकीकृत गरेर सबै कर्मचारीलाई समान बोनस खुवाउनु पर्नेमा सगरमाथा इन्स्योरेन्समा कार्यरत केही कर्मचारीहरूले विरोध मात्रै गरेनन्, लुम्बिनी इन्स्योरेन्सका कर्मचारीलाई बोनस कम दिइनुपर्ने र आफूलाई सेवा सुविधा बढी दिनुपर्ने भन्दै हस्ताक्षर अभियान नै चलाएका थिए । उक्त हस्ताक्षर अभियानमा अधिकांश सिईओ चंकी क्षेत्री निकट कर्मचारीहरूले हस्ताक्षर गरेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारीहरूलाई सिईओ क्षेत्रीकै संलग्नतामा यस्तो हस्ताक्षर अभियान सञ्चालन गरिएको अनुभूति भयो । उनीहरूले विरोध पनि जनाए । तर, एउटै कम्पनीका एकाथरी कर्मचारीहरूले अर्कोथरी कर्मचारी माथि हस्ताक्षर अभियान चलाउने कर्मचारी विरुद्ध व्यवस्थापनले कुनै कारवाही गर्न सकेन । बरू उल्टै हस्ताक्षर अभियान सफल पार्ने निर्णय गर्दै सिईओ र सञ्चालक समितिका अध्यक्ष मनोहरदास मुलले आव २०७९।८० को बोनस विरतण गर्दा विभेदपूर्ण तरीकाले फरक फरक दरले वितरण गर्ने निर्णय गरे तथा गराइए ।

लुम्बिनी जनरल इन्स्योरेन्सका कर्मचारीहरूले न्याय पाएनन् । आफ्नै कम्पनीले विभेद गरेको थियो । त्यसपछि पीडित कर्मचारीहरूले नियामक नेपाल बीमा प्राधिकरणमा उजुरी दिएका थिए । तर अध्यक्ष सुर्य प्रसाद सिलवालले सलिकोका सिईओ तथा अध्यक्षलाई स्पष्टीकरण समेत नसोधि त्यत्तिकै छोडिदिएको आरोप पीडितहरूले लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*