अर्थमन्त्री पौडेलसँग कांग्रेस असन्तुष्ट, सञ्चार मन्त्री आईजिपीविरुद्ध खनिए
काठमाडौं । वर्तमान कांग्रेस एमालेको सत्ता गठबन्धन तिक्तताबीच अघि बढिरहेको देखिएको छ । अर्थमन्त्री विष्णु पौडेलसँग सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेस असन्तुष्ट रहेको छ भने एमालेका मन्त्रीहरुले गृहमन्त्रीमाथि चित्त बुझाएका छैनन् ।
त्यसो त भारतमा प्रचण्डले आफ्नी दुई छोरी पठाएर कांग्रेस नेतृ आरजु राणासँग दिल्लीमै वार्ता नगराएको होइन । त्यस लगत्तै धनगढी जाने क्रममा बुद्धएयरको एउटै जहाज चढेर आरजु राणा र माओवादी अध्यक्ष प्रचण्ड धनगढी गएको विषय पनि चर्चा भइनै रहेको छ ।
अन्य दल भन्दा पनि सत्ता गठबन्धनभित्रै असन्तुष्ट बढ्दै जाँदा वर्तमान सरकार कुनै पनि बेला ढल्ने जोखिम बढेर गएको छ । सरकार गठन भएको धेरै दिन त भएको छैन । तर, नेपाली कांग्रेस अर्थमन्त्री विष्णु पौडेलसँग खुशी हुन सकेको छैन । विष्णु पौडेलले केही सेटिङमा आफ्ना मात्रै मान्छे हाल्ने, बजेटमा पक्षपात गर्ने तथा सरुवामा एकलौटी गरेको भन्दै कांग्रेसभित्र अर्थमन्त्री पौडेलको आयोजना सुरु भएको छ ।
उता, कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकसँग एमालेका मन्त्रीहरुले असन्तुष्टी जनाइरहेका छन् । हिजो पोखरामा आयोजित पत्रकार सम्मेलनमा एमालेबाट सञ्चार मन्त्री बनेका पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीका आईजिपीको चर्को विरोध गरेका छन् । यसअघि शिक्षामन्त्री बिद्या भट्टराईले गृहमन्त्रीले शान्ति सुरक्षा दिन नसकेको भन्दै विरोध जनाएकी थिईन् ।
सरकार गठन भएको बल्ल दुई महिना पुग्दैछ । हनिमुन अवधी नसकिँदै संसदमा माओवादीका अध्यक्ष प्रचण्डले सरकारका विरुद्धमा अर्थपूर्ण अभिव्यक्ति दिनु र सत्ता गठबन्धनका दुई टिमबिचमा सम्बन्ध चिसिदै जानुलाई नयाँ केही पाक्दै गरेको रुपमा समेत हेरिएको छ ।