लुम्बिनी प्रदेशले आफ्नो छुट्टै बीमा नीति ल्याउने

१४ भाद्र २०८१, शुक्रबार १७:२०

काठमाडौं । लुम्बिनी प्रदेशले आफ्नो छुट्टै बीमा नीति ल्याउने भएको छ। केन्द्रीय सरकारले यसअघि २०८० मंसिरमा राष्ट्रिय बीमा नीति ल्याइसकेको छ। अब लुम्बिनी प्रदेशले पनि आफ्नो छुट्टै बीमा नीति ल्याउने भएको हो।

बिहीबार लुम्बिनीको राप्ती उपत्यकामा सम्पन्न बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश बीमा नीति ल्याउने बताएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा मन्त्री सारुले यस्तो बताएका हुन् ।

‘प्रदेश सरकारले नेपाल बिमा प्राधिकरणसँग समन्वय गरेर प्रदेश बिमा नीति ल्याउनेछ,’ उनले बताए।

कार्यक्रममा सारूले प्रदेश सरकारले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर ‘प्रदेश बीमा नीति’ ल्याउने जानकारी दिएका हुन् । उनले कृषि तथा पशुपन्छी बीमा र स्वास्थ्य बीमामा समस्या रहेको उल्लेख गर्दै बीमा दाबी भुक्तानीलाई सरल र छिटोछरितो तुल्याउन प्राधिकरणले सहजीकरण गर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले नागरिकले बीमा सेवा सुविधा सजिलै प्राप्त गरेमा बीमा प्रतिको विश्वास बढ्ने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

यसैगरी, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास एवं विस्तारमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताए। नागरिकको हितलाई ध्यानमा राखेर सामूहिक दुर्घटना बीमा र घर बीमा गर्न प्रदेश सरकारलाई उनले सुझाव दिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमाको महत्त्व, बिमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमा क्षेत्रको विद्यमान अवस्था र बीमाको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिकासम्बन्धी प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागीहरूले बिमितले समयमै दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, जीवन बीमा नवीकरण गर्न ढिला भएमा कम्पनीले धेरै ब्याज लिने गरेको, विदेशी बिमा कम्पनीमा बिमा गर्ने प्रचलन अझै पनि नहटेकोलगायतका जिज्ञासाहरू राखेका थिए।

बीमा अभिकर्तालाई बढी जिम्मेवार बनाउनुपर्ने र कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकतामा राखी कार्य गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*