बीमितको निधनपछि बीमा पोलिसी नै रद्द गर्ने सुर्यज्योति लाइफको निर्णय, मृतकका छोरा ठगिए

१३ भाद्र २०८१, बिहीबार १६:१७

काठमाडौं । सुर्यज्योति लाइफले बीमितको निधन भएपछि बीमा पोलिसी नै खारेज गरिएको भन्दै चार लाख रुपैयाँ फिर्ता नदिएपछि रुपन्देहीका दिनेश जैसवालले आफू ठगिएको भन्दै बिलौना गरेका छन् । प्राप्त कागजात तथा तथ्यहरुले सुर्यज्योति लाइफले बीमाको ७ सिद्धान्त विपरित निधन भएका बीमितका हकवालालाई ठगी गरेको पाइएको छ ।

सुर्यज्योति लाइफले २०७८ फागुन १३ गते गेनहा–६ रुपन्देहीका दिनेश जैसवालकी आमा सतियादेवी कलवारिनको २० लाख बीमाङ्कको बीमा गरिएको थियो । बीमा बापत उनले सहकारी राखेको रकम ल्याएर चार लाख रुपैयाँ भन्दा बढि तिरेका थिए । दुर्भाग्यबश २०७९ साउन ६ गते विहान दिनेशकी आमा कलवारिनको निधन भयो ।

आमाको निधनपछि काजकिरिया सम्पन्न गरी बीमा दावी गर्दा कम्पनी विभिन्न बाहनामा झुलाई रहेको थियो । सो क्रममा २०७९ चैत्र १२ गते एक पत्र दिँदै मृतक सतियादेवी कलवानरिनको बीमा पोलिसी नं ४०४००२८९७ लाई खारेज गर्ने निर्णय गरेको छ । सो निर्णयमा कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री, दावी विभाग प्रमुख राम प्रसाद थपलियासहितले हस्ताक्षर गरी कलवारिनको बीमा पोलिसी खारेज गरिदिएका थिए ।

 

सो बीमा पोलिसीमा अन्याय भएको भन्दै पीडितले नियामक नेपाल बीमा प्राधिकरणमा उजुरी दिँदा समेत कुनै सुनुवाई नगरेको पीडितको भनाई छ । कम्पनीले २०८० साल भदौं महिनामा मात्रै आएर छ महिना पुरानो पत्र दिएको बीमापोष्टलाई प्राप्त कागजातमा देखिन्छ । पीडितले बीमा प्राधिकरणको बुटवल शाखामा उतिबेला नै उजुरी दिएको भएपनि अर्धन्यायिक निकाय बीमा प्राधिकरण मौन बस्दै आएको छ । त्यसो त सुर्यज्योति लाइफको कर छली काण्डमा समेत बीमा प्राधिकरणले कुनै छानविन गर्दै नगरी उन्मुक्ति दिएको थियो । यद्यपि सो कर छली काण्ड अहिले पनि राजश्व अनुसन्धान विभागमा विचाराधिन अवस्थामै छ ।

उता, पीडितले भने आफ्नी आमाको निधनमा समेत सुर्यज्योति लाइफले चलखेल गरेको गुनासो गर्दछन् । बीमापोष्ट प्रतिनिधिसँग रुदै भने, ‘मेरी आमाको निधनको शोक त छदैछ सुर्यज्योति लाइफले विगत दुई वर्षदेखि मेरी आमाको चार लाख रुपैयाँ ठगी गरेको रकम फिर्ता गर्न नसक्दा दुःख लागेको छ ।’ दिनेश जैसवालकी आमाले पर्सामा रहेको जग्गा बिक्री गरेर आएको पैसा स्थानीय सहकारीमा राखेकी थिईन् । सोही क्रममा कम्पनीका प्रतिनिधिले फकाएर बीमा गर्दा बचत र जोखिम बहन दुवै हुन्छ भन्दै बीमा गराईदिएका थिए ।

पीडित दिनेश जैसवालले ठगी गर्ने गलत मनसाय भएको कम्पनीमा बीमा गरेकोले आफू ठगिएको र ठगिएँ भनेर जाँदा लामो समयसम्म न्याय पाउन ढिलाई भएको गुनासो गरेका छन् ।

सो सम्बन्धमा कम्पनीले भने बीमाको नियम अनुसार नै बीमा पोलिसी रद्द गरिएको र बीमा प्राधिकरणमा उजुरी परेकोले तत्काल केही भन्न नमिल्ने जनाएको छ ।

2 thoughts on “बीमितको निधनपछि बीमा पोलिसी नै रद्द गर्ने सुर्यज्योति लाइफको निर्णय, मृतकका छोरा ठगिए

  1. गणेश चौधरी says:

    बिमीत को आफन्त लाइ बीमा खारेजी हैन परकृया मिलाएर पैसा फिर्ता दिनु पर्छ

  2. दुई दुई बर्ष जम्मा गरेको रकम मृतक परिवारलाई उपलब्ध गराउनु पर्छ यदि कम्पनिले रद्ध गरेको हो भने पनि र पोलिसि सुचारु थिएन भने पनि।पोलिसि सुचारु अबस्था त पुरै क्षतिपुर्ति दिननै पर्छ।राज्यले लाईसन्स प्राप्त ठगि धन्दा बन्द हुनपर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*