हिमालयन ऊर्जाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन ऊर्जा कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज (भदौ १२ गते) अन्तिम दिन हो । कम्पनीले साउन २४ गतेदेखि १ बराबरको १ को अनुपातमा ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । प्रतिशेयर रू. १०० अंकित यस हकप्रद खरीदका लागि साउन १९ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी रू. ९९ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद जारी गरेको हो । हकप्रद प्रयोजनका लागि साउन २० गते कम्पनीले बुक क्लोज गरेको थियो । हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
कम्पनीले हकप्रद निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले ‘आइआरएन डबल’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
यस हकप्रदमा बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका–०१, शिवालय, रामेछाप तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पूँजी ९९ करोड रहेको छ । हकप्रद शेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।