एनआईसी एशिया बैंकले जित्यो ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ्ग अर्वाड्स अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’ जितेको छ । देशैभरी सर्वाधिक शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकले उक्त अवार्ड जितेको हो ।
‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति लिएर बैंकिङ्ग सेवाहरू क्रमिक रूपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङ्गमा थप उत्प्रेरणा मिल्ने बैंकले जनाएको छ ।
इण्डियन चेम्बर अफ कमर्सका दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ्ग अर्वाड्स अन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरू नेपाल सहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए ।
सहभागी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए जसमा नेपालबाट एनआईसी एशिया बैंकले उक्त अवार्ड जितेको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो । ती सबै सूचकमा अब्बल साबित भएपछि बैंकले उक्त अवार्ड जितेको हो ।