नाडा अटो सो को लागि ईभी गाडीको आयात बढ्यो
काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा विद्युतीय गाडी (ईभी)तथा उपकरणहरूको आयात बढेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनको आयातनिर्यात तथ्यांकअनुसार ईभी, स्मार्टफोन, ल्यापटप तथा नोटबुक र ट्याबलेटको आयात बढेको हो ।
दशैं, तिहारलाई लक्ष्य गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ ११ देखि काठमाडौंमा ‘नाडा अटो सो २०२४’ आयोजना गर्दैछ । नेपालमा अटो व्यवसायको ‘कुम्भमेला’ भनिने यो प्रदर्शनीलाई लक्ष्य गरी विभिन्न प्यासेन्जर ईभीको आयात बढेको देखिन्छ ।
चालू आर्थिक वर्ष ९आव०को पहिलो महीना साउनमा प्यासेन्जर ईभीको आयात पोहोर साउनको तुलनामा करीब साढे २ गुणाले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनमा ८९ करोड ७० लाख २० हजार रुपैयाँ बराबरको ३८१ विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । पोहोर साउनमा ३४ करोड ६१ लाख रुपैयाँ मूल्यका १०७ थान विद्युतीय कार, जिप र भ्यान भित्रिएका थिए ।
गत महीना आयात भएका ३८१ थान प्यासेन्जर ईभीमध्ये २०२ ओटा चीनबाट आएका छन्, जसको मूल्य ५६ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबर छ । यस्तै १७८ थान इभी भारत र १ थान जर्मनीबाट आयात भएको विभागको तथ्यांकले देखाउँछ । सो अवधिमा ५० किलोवाट र ५१ देखि १०० किलोवाटसम्मका ईभी आयात भएका छन् ।
गत महीना भित्रिएका प्यासेन्जर ईभीमध्ये १६१ ओटा ५० किलोवाटसम्मका, २१६ ओटा ५१ देखि १०० किलोवाटसम्मका, एउटा २०० किलोवाटको, दुईओटा २०१ देखि ३०० किलोवाटसम्मका र बाँकी एउटा ३०० किलोवाटभन्दा माथिको छ ।
गत आवमा २९ अर्ब ४८ करोड मूल्यको ११ हजार ७०१ थान विद्युतीय सवारीसाधन भित्रिएका छन्, जसबाट १३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस वर्षको नाडा अटो सोमा पनि ईभी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा यही भदौ ११ गतेदेखि १६ गतेसम्म चल्ने एशोसिएशनले जनाएको छ।
विभागको तथ्यांकअनुसार गत साउनमा ९६ करोड ३२ लाख ३५ हजार रुपैयाँ बराबरको १४ हजार १८० थान ल्यापटप तथा नोटबुक आयात भएको छ । यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा मूल्यका हिसाबमा २० करोड ३९ लाख ३७ हजार रुपैयाँले बढी हो । गत आवको यस अवधिमा ७५ करोड ९२ लाख ९८ हजार रुपैयाँ बराबरको ११ हजार ७१७ थान ल्यापटप र नोटबुक आयात भएको थियो ।
चालू आवको पहिलो महीनामा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँको २ लाख २५ हजार १६३ थान स्मार्टफोन आयात भएको छ । गत आवको यस अवधिमा २ अर्ब ८६ करोड ८८ लाख ८४ हजार रुपैयाँ मूल्यका १ लाख ७९ हजार ९९७ थान स्मार्टफोन आयात भएको तथ्यांक छ ।