एलआईसी नेपाल प्युठान शाखाद्वारा ५ लाख ८२ हजार दाबी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड (एलआईसी) प्युठान शाखाले मृतक बीमितको परिवारलाई ५ लाख ८२ हजार दाबी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार रोल्पास्थित लुङ्ग्री गाउँपालिका वडा नम्बर २ की मृतक बीमित कुमारी दमाईले २ वर्ष ५ महिना अगाडि अभिकर्ता विष्णु नेपाली मार्फत रू. ५ लाख बीमाङ्कको जीवन आनन्द बीमा पोलिसी खरीद गरेकी थिइन् । उनले एक किस्ता बापत रू. ४१ हजार ६७५ रुपैयाँ जम्मा गरेको ३ वर्ष नपुग्दै अकस्मात निधन भएपछि कम्पनीले बीमितको घरमै पुगेर दाबी रकम हस्तान्तरण गरेको हो ।
प्युठान शाखा प्रमुख चन्द्र पनेरूले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बीमितका श्रीमान प्रेम बहादुर दमाईलाई रू. ५ लाख ८२ हजार ५०० को चेक हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रमुख पनेरूले एलआईसी नेपाल आफ्ना बीमित प्रति सदा ईमान्दार रहेको र आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । उनले ब्यक्ति परिवारमा घट्ने आकस्मिक घटनाबाट हुने आर्थिक समस्याबाट पार लगाउन बीमा एकमात्र उत्तम बिकल्प भएकाले प्रत्येक ब्यक्ति र परिवार बीमाको दायरामा समाहित हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा अभिकर्ता तथा ऐजेन्सी म्यानेजर बिष्णु नेपाली र दामोदर नेपाली लगायत मृतक बीमितका आफन्तहरूको उपस्थिति रहेको थियो ।