हवाई बीमामा चलखेल गर्दै नेपाल बीमक संघ, पुलमार्फत सञ्चालन गर्ने भन्दै लबिङ
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको साझा संस्था नेपाल बीमक संघ आफैँ बीमा व्यवसायको लागि जालझेलमा उत्रिएपछि नेपालको निर्जीवन बीमा व्यवसाय धरापमा पर्ने देखिएको छ । कोरोना बीमा बापतको लाखौं नेपालीहरूलाई पैसा नतिरेको बीमक संघले अहिले हवाई बीमालाई पुल मार्फत सञ्चालन गर्न लबिङ गर्दै आएको खुलेको छ ।
हवाई बीमालाई पुल मार्फत सञ्चालन गर्न बीमा प्राधिकरणमा दबाब आएको एक स्रोतले पुष्टि गरेको छ । हवाई बीमाको बीमा शुल्क र बीमा दावी भुक्तानी ठूलो रकम हुने हुँदा नेपालका बीमा कम्पनीहरूले बीमा नगरी सबै विदेश पठाउने गरेका छन् । हाल हवाई बीमाको हिस्सा ०.५ प्रतिशत मात्रै नेपाली बीमा कम्पनीले राखेर बाँकी विदेशी पुनर्बीमा कम्पनीलाई दिँदै आएको छ ।
अहिले नेपाल बीमक संघले हवाई बीमा पुल मार्फत सञ्चालन गर्न बीमा प्राधिकरणमा लविङ गरिरहेका छन् । पुल मार्फत सञ्चालन गरेपछि बीमक संघको अध्यक्षले विदेशी पुनर्बीमकसँग कलेक्टिभ बार्गेनिङ गरेर राम्रो आम्दानीको स्रोत बनाउन यस्तो गर्न लागिएको बीमा क्षेत्रका जानकारहरुको भनाई छ ।
पछिल्लो समय निर्जीवन बीमा क्षेत्रमा विकृति मौलाउँदै गएको छ । वर्तमान अध्यक्ष सुर्य प्रसाद सिलवालले उधारो बीमा र प्राइस कटिङलाई रोक्ने निर्णय गरेपछि अवैध बाटोबाट दुवै कार्यहरू भइरहेका छन् । बीमा प्राधिकरण आफैँले क्षमताहीन लघुबीमा कम्पनीहरूलाई तेस्रो पक्ष बीमाको अनुमति दिएर गम्भीर त्रुटी गर्दै आइरहेको छ भने बीमक संघ आफैँ बीमाको ठूलो हिस्सा पुलमा सारेर व्यवसाय तलमाथि गर्ने धन्दामा सक्रिय भएर लागेका छन् ।
हवाई बीमाको ठूलो हिस्सा केही सीमित कम्पनीले पाउँदै आएका छन् । त्यसलाई साइजमा ल्याउन बीमक संघले सबैलाई समान हुने गरी पुल मार्फत सञ्चालन गर्न लागेको हो । पुल मार्फत सञ्चालन गरेपछि हवाई कम्पनीहरू जुन कम्पनीमा गए पनि सबै बीमा कम्पनीहरूले समान रूपमा व्यवसाय पाउने हुँदा दर रेट तलमाथि हुँदैन । तर पुल मार्फत सञ्चालनमा आएपछि कार्टेलिङ भएर हवाई कम्पनीहरू मारमा पर्नसक्ने चेतावनी बीमा क्षेत्रका जानकारहरूले दिएका छन् ।