आइएमई लाइफमाथि अनाधिकृत हस्तक्षेप, बीमा क्षेत्रमा कामै नगरेकालाई डेपुटी सिईओ बनाएर सार्वजनिक कम्पनी दोहन

५ भाद्र २०८१, बुधबार १८:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा सेवाको लाइसेन्स लिई पब्लिक कम्पनीको रुपमा जीवन बीमा सेवा दिँदै आएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा अनाधिकृत तहबाट दोहनको प्रयास भएको छ ।

आइएमई लाइफमा सर्वसाधारण जनताको ३० प्रतिशत शेयर रहेको छ । बीमा प्राधिकरणको नियमलाई विश्वास गर्ने हो भने आइएमई ग्रुपको कूल लगानी १६ प्रतिशत भित्रै छ । आइएमई ग्रुपसहित अन्य लगानीकर्ताहरुले पनि आइएमई लाइफमा लगानी गरेका छन् । तर, पब्लिक कम्पनीको रुपमा बीमा सेवा प्रवाह गर्दै आएको र बीमा प्राधिकरणको नियमनभित्र रहेको पब्लिक कम्पनीलाई ग्रुपको तर्फबाट दोहनको प्रयास गरिएको छ ।

जनताको ३० प्रतिशत शेयर रहेको कम्पनीलाई आइएमई ग्रुपले स्वतन्त्र व्यवस्थापकलाई काम गर्न दिनुपर्नेमा अनावश्यक हस्ताक्षेप ग्रुपबाट हुँदै आएको छ । आइएमई ग्रुपमा बढि भएका कर्मचारी खिलेन्द्र पौडेललाई सरुवा गरेझै आइएमई लाइफमा भर्ना गराएर कम्पनीमाथि करोडौं रुपैयाको भार थपिएको छ । बीमा क्षेत्रमा खासै ज्ञान नभएका पौडेललाई आइएमई लाइफको सञ्चालक समितिले कुनै आधार वा कारण समेत नखुलाई डेपुटी सिईओमा नियुक्त गरेको छ ।

बीमित र लगानीकर्तालाई भार पार्ने गरी मासिक लाखौं रुपैयाँ खर्च गरेर डेपुटी सिईओमा नियुक्त भएका पौडेल नेपालको जीवन बीमा क्षेत्रका जानकार व्यक्ति होइनन् । उनी रेमिट्यान्स क्षेत्रका अनुभवी हस्ती हुन् । उनको लागि जीवन बीमा क्षेत्र बिशुद्ध नयाँ हो । तर, पनि कम्पनीले रेमिट्यान्स क्षेत्रका व्यक्तिलाई सिधैं ल्याएर डेपुटी सिईओमा नियुक्ती गर्दा स्थापनाकालदेखि नै आइएमई लाइफमा कार्यरत कर्मचारीहरुको बृत्ति विकासमा समेत अबरोध हुने भएको छ ।

गत साता आइएमई लि र जिएमई लि. मर्जर भयो । उक्त दुई कम्पनी मर्ज भएपछि आइएमई लि.मा दुई जना सिईओ राख्न मिलेन । अनि आइएमई ग्रुपले आइएमई लाइफको सञ्चालक समितिलाई ठाडै आदेश दियो कि पौडेललाई डेपुटी सिईओमा नियुक्त गरेर मासिक लाखौं रुपैयाँ तलव सुविधा, गाडी समेत दिनु । सो आदेश सञ्चालक समितिले शिरोधार्य गर्दै पौडेललाई तेस्रो बरियतामा हुने गरी डेपुटी सिईओमा नियुक्त गरिदियो ।

बीमित र शेयरधनीको बचत र लगानीमा सञ्चालन सार्वजनिक कम्पनी दोहन हुँदा पनि नियामक नेपाल बीमा प्राधिकरणले खासै चासो देखाएको छैन । बीमा प्राधिकरणका प्रबक्ता सुशिलदेव सुवेदीले भने, ‘यो कानुनी प्रश्न नहुन पनि सक्छ, तर नैतिक प्रश्न हो । हामीले कानुन बमोजिम भयो कि भएन भनेर मात्रै हेछौं ।’ त्यसो त बीमा प्राधिकरणले संस्थागत सुशासन सम्बन्धी निर्देशिका नै ल्याएर नैतिकताको कसीमा समेत बाध्ने प्रयास गरेको छ । तर, ठूलो ग्रुपको कम्पनी भन्ने वित्तिकै नियामकका उच्च अधिकारीहरु समेत लुत्रुक्क परेर बोल्न नसक्ने विगतको परम्परा अझै हट्न सकेको छैन । जसले बीमितको अर्बौं रुपैयाँ बचत र लगानीकर्ताको अर्बौ रुपैयाँ लगानी भएको सार्वजनिक कम्पनीमा केही सीमित व्यक्तिहरुले दोहन गरिरहनेछन् ।

त्यसो त खिलेन्द्र पौडेल नेपालको वित्तीय क्षेत्रका लेजेण्ड व्यक्ति हुन् । दुई दशकभन्दा लामो समयदेखि नेपालमा रेमिट्यान्स भित्राउने सबैभन्दा ठूलो कम्पनी आइएमईका सिईओ भएर काम गरेर अनुभवी व्यक्ति हुन् । तर, बीमा क्षेत्रमा भने उनको यो पहिलो अनुभव हुनेछ । दुई दशकभन्दा बढि वित्तीय क्षेत्रमा बिताएका व्यक्तिलाई आइएमई ग्रुप आफैले वित्तीय विश्लेषण र तथ्याङ्क विश्लेषण र परामर्श दाताको रुपमा राख्न सुहाउने व्यक्ति समेत हुन् । तर, आइएमई लाइफमा पार्किङ गर्ने निर्णय भने अलि व्यवहारिक नभएको आइएमई लाइफकै कर्मचारीहरुको पनि गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*