सिद्धार्थ प्रिमियरका कर्मचारीले बुझे सबैभन्दा धेरै तलव, कुन कम्पनीको कर्मचारी खर्च कति ? (सूचीसहित)
काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुलाई तलब र बोनश बापत पाँच अर्ब ५२ करोड ७५ लाख रुपैयाँ वितरण गरेका छन् । सो आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले सबैभन्दा धेरै तलव तथा अन्य सुविधा बुझेका छन् भने नेशनल इन्स्योरेन्स कम्पनीले कर्मचारी तलवमा सबैभन्दा कम खर्च गरेको देखिएको छ ।
कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण उल्लेख गरे अनुसार सबैभन्दा धेरै रकम कर्मचारीमा खर्च गर्ने कम्पनीको सूचिमा सबैभन्दा पहिलो सिद्धार्थ प्रिमियर, दोस्रोमा सलिको परेको छ भने तेस्रोमा शिखर इन्स्योरेन्स परेको छ ।
कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा वितरण गरेको कर्मचारी तलब र बोनशलाई ३३ दशमलव ८० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले कर्मचारीहरुलाई सेवा सुविधा मार्फत चार अर्ब १३ करोड १२ लाख रुपैयाँ वितरण गरेको थियोे ।
नियमनकारी निकाय बीमा प्राधिकरणले पनि कम्पनीहरुलाई कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा पारिश्रमिकलाई विशेष ध्यान दिएर कार्यसम्पादन गराउन समेत निर्देशन दिदै आएको छ । साथै, कम्पनीहरुले पनि आफ्ना कर्मचारीहरुलाई विभिन्न समयमा क्षमता अभिवृद्धि तालिम तथा भ्रमण र बोनशलाई प्राथमिकता दिदै कर्मचारीहरुको समस्या सम्बोधन गर्दै आएका छन् ।
बीमा क्षेत्रमा प्रशासनिक, आर्थिक तथा विभिन्न कार्य सम्पादन गर्न अब्बल रहेका कर्मचारीहरुलाई तलब र प्रोत्साहन गर्न बोनश रकम वितरण गर्ने प्रचलन रहेको छ ।
समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी रकम कर्मचारी सेवा सुविधामा खर्चिएको छ । यस अवधिमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने रकमको आकार अघिल्लो आवको तुलनामा ७० प्रतिशतले बृद्धि गरी ३९ करोड १६ लाख रुपैयाँबाट ६६ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई विभिन्न समयमा तालिम तथा सेमिनार लगायतका कुराको आयोजना गरी क्षमता अभिवृद्धि गर्दै आएको कम्पनीले जनाएको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योेरेन्सले कर्मचारी सेवा सुविधामा ६१ करोड ८२ लाख रुपैयाँ वितरण गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ प्रतिशतले सेर्वा सुविधाको आकार बृद्धि गरेको छ ।
नेपाली निर्जीवन बीमा क्षेत्रको अब्बल कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सले ५६ करोड ६७ लाख रुपैयाँ कर्मचारीहरुलाई वितरण गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५१ करोड ६० लाख रुपैयाँ उक्त कुराहरुमा वितरण गरेको थियो ।
त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स आफ्ना कर्मचारीहरुलाई मालामाल बनाएको छ । कम्पनीले आफ्ना कर्मचारीलाई बितरण गर्ने सेवा सुविधाको आकार १६५ प्रतिशतले वृद्धि गरी १८ करोड १६ लाख रुपैयाँबाट ४८ करोड १९ लाख रुपैयाँ वितरण गरेको छ । कर्मचारीलाई खुशी र उनीहरुको क्षमता अभिबृद्धिमा मोटो रकम खर्चिएको कम्पनीको प्रशासनिक कार्यदेखि लिएर बीमा दावी भुक्तानी पनि चुस्त दुरुस्त बनाउन कम्पनी सफल भएको छ ।
नेको इन्स्योरेन्स कर्मचारीप्रति कन्जुस देखिएको छ । कम्पनीको सञ्चालनमा खम्बाका रुपमा रहेका कर्मचारीहरुको सेवा सुविधालाई न्यून प्रतिशतले मात्र बढाएको छ । यस अवधिमा कम्पनीले कर्मचारीहरुलाई ४६ करोड ६० करोड रुपैयाँ वितरण गरेको छ ।
हिमालयन एभरेष्टले कर्मचारी सेवा सुविधालाई २४ प्रतिशतले वृद्धि गरी ३५ करोड तीन लाख रुपैयाँबाट ४३ करोड ७५ लाख रुपैयाँ बितरण गरेको छ । साथै, युनाइटेड अजोड इन्स्योरेन्सले ४३ करोड ६७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ३५ करोड ९७ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले पनि ३५ करोड ४६ लाख रुपैयाँ कर्मचारीहरुलाई सेवा सुविधा वापत वितरण गरेको छ ।
यस अवधिमा एनएलजी इन्स्योरेन्सले २८ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले पनि २३ करोड ५७ लाख रुपैयाँ बितरण गरेको छ ।