जीवन र निर्जीवन बीमा कम्पनीहरुको ईपीएस र एलटीपीलाई दाजेर हेर्दाः कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

४ भाद्र २०८१, मंगलवार १६:३४

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल १२ वटा जीवन र १२ वटा निर्जीवन गरी २४ वटा बीमा कम्पनीहरु सूचीकृत रहेका छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेका विवरण अनुसार विभिन्न वित्तीय सूचकहरुमा बीमा कम्पनीहरु अब्बल बन्दै गएका छन् । यस अवधिमा अधिकांश कम्पनीहरुले आफ्नो कुल बीमा शुल्क आर्जन, मुनाफा, नबिकरण शुल्क र प्रतिशेयर आम्दानीमा पनि वृद्धि गर्न सफल भएका छन् ।

लगानीकर्ताहरुले कुनै पनि कम्पनीमा लगानी गर्र्न पूर्व सो कम्पनीका विभिन्न वित्तीय सूचकहरुको अध्ययन गर्न आवश्यक रहेको छ । जसमा कम्पनीहरुको शेयरमूल्यलाई प्रभावित पार्ने प्रमुख सूचक भनेको प्रतिशेयर आम्दानी पनि हो । कम्पनीहरुको मुनाफाको क्षमतालाई प्रतिशेयर आम्दानीले देखाएको हुन्छ । यस आधारले पनि पूँजी बजारका लगानीकर्ताहरुको लागि यो निकै महत्वपूर्ण सूचक बनेको छ ।

प्रतिशेयर आम्दानीले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रतिशेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधार पनि हो ।

दोस्रो बजारमा सेयर कारोवार गर्ने लगानीकर्ताले कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानीको बारेमा जान्न धेरै जरुरी छ । कम्पनीको प्रतिसेयर आम्दानीले उक्त कम्पनीको आर्थिक स्वस्थता र सवलता कस्तो छ भन्ने कुराको जानकारी दिन्छ । कम्पनीको खुद मुनाफाबाट प्रत्येक सेयरमा कति आम्दानी आउँछ भन्ने कुराको जानकारी प्रतिसेयर आम्दानीले दिन्छ ।

दोस्रो बजारमा कम्पनी छनौट गर्दा प्रतिसेयर आम्दानी अधिक भएको कम्पनी छनौट गर्नुपर्दछ । प्रतिसेयर आम्दानी अधिक भएको कम्पनीले बोनस पनि अधिक दिन्छ । प्रतिसेयर आम्दानी र सेयर मूल्यको सम्बन्ध सकारात्मक हुन्छ, प्रतिसेयर आम्दानी बढ्दै जादा कम्पनीको सेयर मूल्य पनि बढ्दै जान्छ ।

जीवन बीमा कम्पनीको प्रतिशेयर आम्दानी र एलटीपीः

समग्र रुपमा हेर्दा बीमा क्षेत्रका कम्पनीहरुको प्रतिशेयर आम्दानी र शेयरमूल्य सन्तुलित नै रहेको छ । समीक्षा अवधिमा सन नेपाल लाइफको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५१ पैसा रहेको छ भने शेयरमूल्य ६६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रतिशेयर आम्दानीको आधारमा दोसो नम्बरमा रहेको आइएमई लाइफको इपीएस १० रुपैयाँ २३ पैसा रहेको छ । कम्पनीको शेयरमूल्य ५७३ रुपैयाँ रहेको छ । साथै, एशियन लाइफको ईपीएस ९ रुपैयाँ ६६ पैसा रहेको छ भने शेयरमूल्य ७८६ रुपैयाँ रहेको छ ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुको शेयरमूल्यको आधारमा एलआइसी नेपाल अग्रस्थानमा रहेको छ । हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा रहेको कम्पनीको शेयरमूल्य दुई हजार २७१ रुपैयाँ रहेको छ । कम्पनीको इपीएस नौ रुपैयाँ रहेको छ ।

त्यस्तै, शेयरमूल्यको आधारमा नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीको शेयरमूल्य ९८० रुपयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ २६ पैसा रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण र नेप्सेको कारोबारबाट उल्लेख गरिएको

निर्जीवन बीमा कम्पनीहरुको प्रतिशेयर आम्दानी र एलटीपीः

निर्जीवन बीमा कम्पनीमा पनि प्रतिशेयर आम्दानी र कम्पनीहरुको शेयरमूल्यबीच सन्तुलन कायम रहेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी २३५ रुपैयाँ २७ पैसा रहेको छ भने शेयरमूल्य २० हजार ४४९ रुपैयाँ रहेको छ ।

यस अवधिमा नेपाल इन्स्योरेन्स प्रतिशेयर आम्दानीको आधारमा दोस्रो स्थानमा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ६१ पैसा रहको छ भने शेयरमूल्य एक हजार ८६ रुपैयाँ रहेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ सात पैसा रहेको छ भने शेयरमूल्य प्रतिकित्ता एक हजार १३ रुपैयाँ रहेको छ ।

प्रभु इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ पाँच पैसा रहेको छ भने शेयरमूल्य एक हजार २८ रुपैयाँ रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण र नेप्सेको कारोबारबाट उल्लेख गरिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*