वैदेशिक रोजगारमा रहेका नेपाली कामदार शेयर बजारप्रति आकर्षित
काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरू नेपाली शेयर बजारप्रति आकर्षित भएका छन् । सरकारले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई पब्लिक कम्पनीको आईपीओमा प्राथमिकता दिएपछि नेपाली कामदार शेयर बजारप्रति आकर्षित भएका हुन् ।
उनीहरूमध्ये अधिकांश दोस्रो बजारको कारोबारमा सक्रिय रहेको शेयर बजारका विश्लेषक सन्दीप चौधरी बताउँछन् । दक्षिण कोरियामा रहेका नेपाली कामदारका लागि निरन्तर अनलाइनमार्फत प्राविधिक तालिक सञ्चालन गरिरहेका चौधरीले उनीहरूले दैनिक ठूलो रकमको कारोबार गरिरहेको जानकारी दिए ।
दक्षिण कोरियासहित युरोपेली मुलुकहरू र अमेरिकामा बस्ने नेपालीहरू पनि नेपाली शेयर बजारमा लगानी गर्न सक्रिय रहेकोे चौधरीले बताए । कतिपयले आफ्नो र कतिपयले आफन्तको नाममा डिम्याट खाता सञ्चालन गरिरहेको उनी बताउँछन् । विदेशी शेयर बजारमा मन्दी आउँदा नेपाली शेयर बजारमा सकारात्मक प्रभाव पर्ने र धेरै लगानी आउने गरेको उनको बुझाइ छ ।
निरन्तर सिधा अर्थात भर्टिकलरूपमा बढेको नेपाली शेयर बजारमा हालको नेप्से परिसूचक वृद्धि तथा यथावत रहेको अवस्थामा वैदेशिक रोजगारमा रहेका कामदारको थप लगानी भित्रिन सक्ने उनको विश्लेषण छ ।
शेयर बजारमा लगानी भित्रिँदा नेपाल आउने रेमिट्यान्स पनि औपचारिक च्यानलबाट आउने गर्दछ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा करीब साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको छ । यो रकममध्ये ठूलो हिस्सा विदेशबाटै शेयर बजारमा लगानी भएको अनुमान छ । हालसम्म ५६ लाख बढी नेपाली विदेशमा रहेका छन् । एक वर्षको अवधिमा ७ लाख ३१ हजारभन्दा बढी नेपाली विदेश गएका छन् ।
पछिल्ला केही दिनमा नेप्से परिसूचक र कारोबार रकमले दैनिकजसो नै रेकर्ड बनाउँदै आउनुमा वैदेशिक रोजगारमा रहेका कामदारहरूको योगदान उच्च रहेको बताइएको छ । दोस्रो बजारमा कारोबार गर्ने कतिपय कामदारले शेयर बजारको जोखिम आंकलन गर्न नसक्दा दीर्घकालीन लगानीकर्तामा परिणत हुने जोखिममा पर्ने विश्लेषकहरू बताउँछन् ।