घोराही सिमेन्टको ब्यवसाय निरन्तर खुम्चिंदै, वित्तीय अवस्था धरापमा रहेको कम्पनीमा फस्दै लगानीकर्ता

४ भाद्र २०८१, मंगलवार ११:२४

काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गरेको घोराही सिमेन्टको व्यापार निरन्तर खुम्चिदै गएको छ । आम सर्वसाधारणलाई गत असारमा सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले साधारण शेयर आईपीओ निष्कासन गरेको घोराहीको ब्यवसायमा निरन्तर गिरावट देखिएको हो ।

घोराही सिमेन्ट बेचेर कोभिड १९ को समयमा समेत सन्तोषजनक व्यापार गरेको कम्पनीको ब्यवसाय पछिल्लो समय निरन्तर ओरालो लागि रहेको छ । पछिल्लो चार वर्षदेखि कम्पनीको व्यापार खुम्चि रहेको छ । व्यापारिक ग्रुप त्रिवेणी समूह र विशाल ग्रुपको स्वामित्वमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिको ब्यवसाय सन् २०२१ देखि घटि रहेको ।

सन् २०२१ मा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले स्न २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँ मात्र गरेको थियो । यसबीचमा कम्पनीको ८१ करोड ५० लाख रुपैयाँ गायब भएको छ । यता, कम्पनीले सन् २०२४ मा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँ र सन् २०२४ को ९ महिनामा ३ अर्ब १० करोड रुपैयाँको व्यापार गरेको हो ।

सन् २००७ देखि निरन्तर सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले अन्य सिमेन्ट कम्पनीलाई क्लिंकर पनि बिक्री गर्दै आएको छ । कम्पनीले सगरमाथा, गोर्खा र विश्वकर्मा ब्रान्डमा ओपीसी र पीपीसी मिसेन्ट उत्पादन गर्दै आएको छ । दैनिक ३५ सय टन क्लिंकर उत्पादन र १६ सय टन प्रतिदिन ग्राइन्डिङ क्षमता रहेको छ ।

कम्पनीको नाफाको मार्जिनमा समेत ओरालो लागेको छ । सन् २०२३ मा मार्जिन १७.६१ प्रतिशत, सन् २०२२ मा १९.५२ प्रतिशत, सन् २०२१ मा वृद्धि भएर १५.७६ प्रतिशत र सन् २०२०मा १०.९९ प्रतिशत रहेको थियो । सन् २०२४ को पहिलो ९ महिनामा भने मार्जिनमा भारी गिरावट भएर २.०४ प्रतिशतमा सीमित भएको छ ।

कम्पनीले हालका लागि १० अर्ब ७६ करोड ४६ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । दीर्घकालीन कर्जा सुविधामा ८ अर्ब ९ करोड १९ लाख रुपैयाँका लागि डबल बि र २ अर्ब ६७ करोड २६ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधामा ‘ए फोर’ रेटिङ दिएको छ ।

वित्तीय अवस्था ?

सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरणमा अनुसार अधिकांश सूचकमा कम्पनी धरापमा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४ सिमेन्ट उद्योग मध्ये घोराही सिमेन्ट नाजुक अवस्थामा रहेको हो । कम्पनीको नाफा १ खर्ब २१ करोड ८८ लाख ८४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीमो नाफा ६ करोड ३१ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी समेत २६.६८ रुपैयाँ ऋणात्मक छ । साथै, कम्पनीको चुक्तापुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ, बिक्री लागत ४ अर्ब १६ करोड ६९ लाख रुपैयाँ, संचालन आम्दानी ४ अर्ब ४७ करोड, प्रतिशेयर नेटवर्थ २०७.९३ रुपैयाँ र जगेडा संञ्चिति ७ करोड ९० लाख रुपैयाँ रहेको छ ।

विवादै–विवादकाबीच आइपीओ निष्कासन गरेको कम्पनीमा लगानी थप असुरक्षित बनि रहेको छ । माफियाहरुले चलखेल गरी रहेको कम्पनीको शेयर मूल्य ५६८ रुपैयाँ रहेको छ । नाफासँगै प्रतिशेयर आम्दानी ऋणात्मक रहेको, लाभांश दिने क्षमता नरहेको र अधिकांश सूचक खुम्चि रहेको सिमेन्टमा लगानी गर्नु असुरक्षित हुन्छ । ठुला लगानीकर्ताले चलखेल गरेर सीमित समयका लागि मूल्य बढाई स–साना लगानीकर्तालाई टोपी लगाएर एक्जिट हुनुबाट बच्नुपर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*