के अब शेयर खरिद गर्नु भनेको जुवा खेल्नु हो ?

३ भाद्र २०८१, सोमबार १६:२७

काठमाडौँ । २०६५ साल भदौं २ गते तत्कालिन नेकपा माओवादी सरकारबाट अर्थमन्त्री बनेका बाबुराम भट्टराईले शेयर बजार जुवा घर भएको अभिब्यक्ति दिए । भट्टराईको अभिब्यक्तिपछि १०७५ बिन्दुमा रहेको नेप्से परिसूचक २९२ बिन्दुमा झर्यो । उनले बजार जुवा घरको संज्ञा नदिएको भन्दै प्रतिरक्षा गरेपनि लगानीकर्तामा त्रास हटे्न ।

पुनः २०७४ साल फागुनमा वाम गठबन्धनको सरकारबाट अर्थमन्त्री बनेका डा.युवराज खतिवडाले घरजग्गा र शेयर लगायतका अनुउत्पादक क्षेत्रमा पूँजी परिचालन नगर्ने अभिब्यक्ति दिए । जसको कारण शेयर बजारमा भारी गिरावट देखिएको थियो ।

पछिल्लो सरकारले भने शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा व्याख्या गर्दै आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिनै संसदबाट पुँजी बजार अर्थतन्त्र ऐना रहेको भन्दै सरकारले प्राथमिकता दिने बताएका थिए । यता, अर्थमन्त्री विष्णु पौडेलले पनि शेयर बजारलाई चलयमान बनाउन आफुले सकारात्मक कदम चाल्ने बताउँदै आइरहेका छन् । नेपाल राष्ट्र बैंकले समेत शेयर बजारलाई बाधा गर्ने नीतिहरु फुकुवा गर्दै अघि बढी रहेको छ । जसले गर्दा शेयर बजार निरन्तर उचाई तिर लम्कि रहेको छ ।

बजारमा आएको अस्वभाविक वृद्धिले सत्ता पक्षकै सांसदहरुले टेलिभिजन कार्यक्रमदेखि संसदमा पुँजी बजारमा माफियाको चलखेल भइरहेको तर्क राखी रहेका छन् । वित्तीय अवस्था नाजुक रहेका, नाफा ऋणात्मक रहेका र प्रतिशेयर आम्दानी समेत निरन्तर घट्दो क्रममा रहेका कम्पनीको शेयर मूल्यमा आएको उछालले सांसदहरुको ध्यान तानेको छ । तर, अनेकौ उतार चडाबकाबीच नेप्से परिसूचक तीन हजार बिन्दुसम्म पुग्यो ।

यस साताको पहिलो दिन आइतबार शेयर बजारमा देखिएको गिरावटले अब एक्जिट हुने बेला आएको आंकलन हुन थालेको छ । अहिले कयौ लगानीकर्ता नाफा बुक गरेर बाहिरिने क्रम जारी रहेको छ । अहिले उचालिएको बजारमा शेयर खरिद गर्नु भनेको जुवा खेल्नु जस्तै रहेको तर्कहरु हुन थालेका छन् । अस्वभाविक रुपमा उछाल आइरहेको शेयर बजारमा अब ठुलो करेक्सन देखिने संम्भावना रहेको छ । यो समयमा गर्ने लगानी निकै जोखिम हुन्छ जुवा घर जस्तै । जुवामा कहिले हारिन्छ कहिले जितिन्छ । त्यही जुवाले कहिले मालामाल बनाउँछ कोहीलाई सडकको बास पनि बनाएको छ । अहिलेको समय जुवा जस्तै हो उचालिन पनि सक्छ र ठुलो करेक्सन समेत देखिन्छ सक्छ ।

२०७८ भदौ २ गतेको दिन शेयर बजार ३२ सय बिन्दुमा पुगेको थियो । जुन समयमा परिसूचक २८/२९ सय हुँदा शेयर खरिद गर्ने लगानीकर्ता अझै रिकभर हुन सकेका छैनन् । सोहि बेला शेयर खरिद गर्ने लगानीकर्ता कयौंले आत्माहत्या गरे भने कतिपय विदेश हाकिए । आफ्नो चल/अचल सम्पत्ति शेयरमा लगानी गर्दा घरखेत सबै सिद्धाउदा कतिपय सडकमा आइपुगेका थिए । अहिलेको शेयर बजार पनि हावा भरीएको बेलुन झै फुलेको छ । जो बेलुन जुन समयमा समेत फुट्न सक्छ । यो समयमा शेयर खरिद गर्दा जुवा घरको जस्तै लगानी आउने र जाने दुबै हुन सक्ने देखिन्छ । बजार देखिएको एकाएक उचाईले बजार नराम्रोसँग पछारिने देखिन्छ ।

अहिले पुँजी बजार हल्लैहल्लाले चलेको हो भन्दा फरक पर्दैन । बजार कुनै न कुनै समय तल झर्र्ने पक्का पक्की छ । अर्थमन्त्री पौडेल आएर कुनै नीतिगत उथलपुथल गरेका होइनन् । नत राष्ट्र बैंकले बाधा गर्ने सबै पोलिसि खारेज गरेको हो । मार्केट अहिले आश्वासनले नै उचालिएको देखिन्छ । हल्लैहल्लाको बीचमा बजारमा देखिएको उछाल माफियाहरु एक्जिट हुने र स–साना लगानीकर्ताको लगानी बालुवामा पानी हुने हुन्छ ।

अहिले एउटा आश पक्कै छ जुन हो नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समिकरण । दुई ठुला दल मिलेर देशलाई स्थायित्व दिने आश आम लगानीकर्तामा रहेको छ । तर, नेपाली राजनीति जहिले पनि अस्थिरताको चपेटामा परेको छ । कुनै पनि समय के हुन्छ थाहै हुँदैन । यसअघिको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार एकै रातमा डलेको हो । जुन कुरा नेपाली राजनीतिमा नौलो होइन । यता, बजार पुँजिकरण कूल ग्राहस्त उत्पादन नजिक पुगेकोले शेयर बजार कुनै पनि बेला ढल्न सक्ने चर्चाहरु अहिले बजारमा हुन थालेका छन् । बजारमा आउने सम्भावित गिरावटलाई लिएर अहिले नियामक निकायहरु पनि सबल, वित्तीय अवस्था उत्कृष्ट र लाभांश क्षमता राम्रो रहेको कम्पनीको रोज्न सुझाव दिइरहेका छन् ।

नेपालको कूल जिडिपी ५४ खर्ब ९४ अर्ब रहेको छ । नेप्सेमा आइतबार कूल बजार पुँजिकरण ४७ खर्ब ११ अर्ब पुगेको छ । अहिले जिडिपी र नेप्सेमा बजार पुँजिकरणको रेसियो करिब ९० प्रतिशत नजिक पुग्न थालेको छ । शेयर बजारको बजार पुँजिकरण जति जति जिडिपी नजिक पुग्छ उति नै जोखिमपूर्ण मानिन्छ । जिडिपि नजिक पुग्न बजार पुँजिकरण साढे ७ खर्ब रुपैयाँ बाँकी रहेको छ । नेपालको पुँजीकरण ओभरभ्यालुड नजिक पुग्न थालेको छ । बजार पुँजिकरण जिडिपीभन्दा माथि भएको अवस्थामा शेयर मूल्यमा ठूलो उछाल आउने सम्भावना छैन । साथै बजार उच्च बिन्दुमा पुगेको अवस्थामा सुरक्षित हुन चाहनेले शेयर बिक्री गर्ने प्रवृत्ति देखिने र लगानी गर्नेले ठूलो मात्रामा शेयर खरिद गर्न डराउने हुने गर्छ ।

अहिले केहि सीमित ब्यक्तिहरुको इसारमा शेयर बजार नाचेको छ । तिनै ब्यक्तिहरुले स–साना लगानीकर्ता समाजिक सञ्जालदेखि क्लबहाउसमा कम्पनीको नामै ताकेर शेयर खरिद गर्ने लगाइरहेका हुन्छन् । जसमा उनीहरु समयमै एक्जिट हुने र नवप्रवेशी लगानीकर्ता डुब्ने फोहोरी खेल हुन्छ । निहित स्वार्थ बोकेका समूहले शेयरमा चलखेल गर्ने परम्परा नेपालमा मात्र नभएर विश्वभरीकै पुँजीबजारमा समेत चल्ने गर्दछ । देशको परिस्थिती र अर्थव्यवस्था अनुसार भिन्न भिन्न ढंगले सेयरमा चलखेल हुने गरेका छन् । इन्साइडर ट्रेडिङ र अफवाह फैलायर शेयर बजारमा चलखेल गर्ने जस्ता कुरामा समेत लगानीकर्ताले ध्यान दिनु आवश्यक रहेको छ । शेयर कारोबार गर्ने ‘दलाली’हरुले आफू कमाउन र आफ्नो शेयर महङ्गोमा बेच्नको लागि सोझा जनतालाई फसाइरहेको छन्। आफ्नो शेयर महङ्गोमा किन्न लगाएर यी शेयर ‘दलाली’हरुले जनताको प्रयोग गरिरहेको छन् ।

हरेक क्षेत्रमा ‘दलाली’को बिगबिगी छ। ‘दलाली’को कारण हरेक चीजको मुल्य दिनमा चार गुणा, रातमा दश गुणा बढिरहेको छ। शेयर बजारमा पनि ठ्याक्कै यही नै भएको पाइन्छ। घर, जग्गाको मुल्य बढाउने नै ‘दलाल’ र बिचौलिया हुन् । नवप्रवेशी लगानीकर्ताहरूले बजार बढेको देखेर हौसिएर थप लगानी गर्नुभन्दा पनि आफूले गरेको लगानीको सुनिश्चिततातर्फ ध्यान दिनुपर्दछ। किनकी शेयरमा कमाउने भन्दा गुमाउनेको संख्या जहिले पनि अधिक हुन्छ। बढी नाफा कमाउने आशामा शेयरमा लगानी गर्नुभन्दा पनि यसको विविधिकरणमा ध्यान दिनु उपयुक्त हुन्छ। शेयर बजारमा आधारभुत अवस्था राम्रा भएका र लाभांश दिने कम्पनीमा मात्र लगानी गरौं, लहै लहैमा नलागौं, नत्र पछुताउनु बाहेकको अन्य विकल्प हुने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*