शंकास्पद विवरण राखेर आइपीओ जारी गर्न खोज्ने मारुती सिमेन्टको व्यवसायमा गिरावट

२ भाद्र २०८१, आईतवार १८:१८

काठमाडौँ । नेपाली धितोपत्र बजारमा वित्तीय सूचक नाजुक भएका कम्पनीहरु आइपीओ निष्कासन प्रक्रियामा जाने परम्परा जस्तै बनि सकेको अवस्था छ । प्रतिशेयर आम्दानीसँगै नाफा पनि ऋणात्मक भएका कम्पनीहरु चलखेलमा प्रिमियममा आइपीओ निष्कासन गर्ने उदारहण प्रसस्त छन् ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड पनि निरिह बन्दै गएको छ । वित्तीय अवस्था नाजुक रहेका र ठग्ने उद्देश्यले आइपीओ निष्कासन गर्ने तयारी गरी रहेका कम्पनीलाई आँखा चिम्म गरेर आइपीओ स्वीकृत दिन्छ । जसले गर्दा आम सोझा लगानीकर्ताको लगानी बालुवामा पानी जस्तै हुने गरेको छ ।

त्यस्तै कम्पनी हो मारुती सिमेन्ट । घाटा निरन्तर चुलिदै गएको मारुतीले प्रिमियममा आइपीओ निष्कासन गर्नेका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइ सकेको छ । पछिल्लो समय व्यापार निरन्तर ओरालो लागि रहेको मारुतीले १०० रुपैयाँ अङ्कित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ३७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता बराबरको कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँको आइपिओ निष्कासनको गर्ने जनाएको छ ।

किन चलखेलको आंशका ?

भर्खर मात्रै वित्तीय अवस्था नाजुक रहेको रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डसँग घुस सेटिङमा आइपीओ निष्कासन गर्ने खोज्दा रोकिएको थियो । धितोपत्र बोर्डले घुस सेटिङमा आइपीओ निष्कासन गरेको विषय सिआइबिमा समेत पुगेको हो । राजनीतिक र विभिन्न दबाबका कारण रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओको छानबीन नै नगरि सिआईबी पछि हटेको छ । नेपालको कानुन माफियाहरुका अघि झुक्ने पद्दतीले नै चलखेल मौलाउँदै गएको देख्न सकिन्छ ।

सत्ता र शक्तिका भरमा जे पनि सम्भव हुन्छ भन्ने मानसिकता राख्ने केहि सीमित घराना ब्यक्तिले आम सोझा लगानीकर्ता मारमा पर्ने गरेको छ । मारुतीमा पनि घुस सेटिङमा अघि बढेको त होइन भन्ने आशंका उब्जिएको छ । गत पुस २६ गते कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता बराबरको कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँको आइपिओ निष्कासनको अनुमति मागेको हो । जुन सूचना धितोपत्र बोर्डको वेबसाइटमा समेत राखिएको थियो ।

तर, बोर्डको वेबसाइटमा प्रकाशित सूचनामा प्रिमियम दर थप भएको पाइएको हो । प्रिमियम थप १०० रुपैयाँ बढाइएको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ३७७ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति माग गरेको छ ।

रातारात आवेदन दिएको मूल्यमा प्रिमियम थप भए पश्चात चलखेल भएको हुन सक्ने आंशका बढेको छ । धितोपत्र बोर्डका उच्च स्तरका ब्यक्तिहरु मार्फत प्रिमियम दर धेरै फेरबदल भएको स्रोतले बताएको छ । प्रिमियम रकम बढाएर आम सर्वसाधारणको आँखामा कालो पट्टी बाध्न सक्ने मारुतीले आइपीओ निष्कासनमा समेत चलखेल गर्ने सक्ने आशंका हुन थालेका छन् ।

व्यापारमा निरन्तर संकुचन

सोहि मारुती सिमेन्टको व्यापार निरन्तर खस्किदै गएको देखिन्छ । सन् २०२२ तुलनामा ५ अर्ब ४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँमा सीमित भएको हो । यसअवधिमा कम्पनीको ७२ करोड ७० लाख रुपैयाँको व्यापार गायब भएको छ ।

गत आर्थिक वर्षको ९ महिनामा ३ अर्ब २२ करोड ८० लाख रुपैयाँको मात्र कम्पनीले व्यापार गरेको छ । यसरी हेर्दा सन् २०२४ मा पनी कम्पनीको व्यापार घट्ने प्रष्ट छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ८६ करोड, सन् २०२० मा ५ अर्ब ६३ करोड र सन् २०१९ मा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । पछिल्ला वर्ष कम्पनीको मुनाफा निरन्तर ओरालो लागि रहेको छ ।

सन् १९९४ मा सुरु भएको कम्पनी नेपालको ठूलोमध्येको एक सिमेन्ट उत्पादक कम्पनी हो । सन् २००५ मा हालको व्यवस्थापनले स्वामित्व बहन सुरु गरेको यो कम्पनी राठी ग्रुप र गोयल ग्रुपको संयुक्त स्वामित्वमा रहेको छ । कम्पनीको उत्पादन क्षमता सिराहा जिल्लाको मिर्चैया क्षेत्रमा रहेको छ । हाल यो कम्पनीमा दैनिक रुपमा १५ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने क्षमता र दैनिक रुपमा २ हजार मेट्रिक टन ग्राइन्डिङ क्षमता रहेको छ ।

कम्पनीले दीर्घकालीन कर्जा क्षमतामा ४ अर्ब १३ करोड र अल्पकालीन कर्जा क्षमताका लागि २ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ गरि कुल ६ अर्ब ७२ करोड ३१ लाख रुपैयाँको कर्जा क्षमताका लागि रेटिङ गराएको छ । केयर रेटिङले कम्पनीलाई दीर्घकालीन कर्जा सुविधाका लागि त्रिपल बि र अल्पकालीन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*