ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीद्वारा पदभार ग्रहण, अध्यक्ष ढकालले दिलाए शपथ
काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेको छन् । आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेग्मीलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
पदभार ग्रहण गर्दै सीएओ रेग्मीले बैंकको व्यवसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्दता जनाए । उनले बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने बताए ।
यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै विस्तार हुने विश्वास व्यक्त गरे । “रेग्मी ग्लोबल आइएमई बैंकको सुरुदेखि नै यस बैंकमा हुन्नुहुन्छ । लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो । उहाँले यस ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दा नियामकीय निर्देशनहरुको अधिनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयरहोण्डरहरुलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,” उनले भने ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएका रेग्मी लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न छन् । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका हुन् ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।