निजी क्षेत्रमा कर्जा प्रवाह ५.८% वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०८०।८१ मा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ५.८ प्रतिशतले बढेर रू. २ खर्ब ६७ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा रू. १ खर्ब ७५ अर्ब ९४ करोड अर्थात् ३.८ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.८, विकास बैंकहरुको ५.० र वित्त कम्पनीहरुको ७.७ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०८० असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८.० प्रतिशत र ११.६ प्रतिशत रहेको थियो ।
गत आवमा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ०.९, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २२.२, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.६, मार्जिन प्रकृति कर्जा १८.१ र ट्रष्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा २२, ओभरड्राफ्ट कर्जा ४६.३ र डिमान्ड तथा चालु पँुजी कर्जा १७.६ प्रतिशतले घटेको छ ।