अयोग्य तेल ‘अमृत’ उत्पादन गर्ने अन्नपूर्ण भेजिटेबलको साढे पाँच अर्बको व्यापार गायब

२ भाद्र २०८१, आईतवार ११:२०

काठमाडौं । अयोग्य तेल ‘अमृत’ उत्पादन गरी रहेको संघई परिवारद्वारा सञ्चालित अन्नपूर्ण भेजिटेबल प्रोडक्ट कम्पनीको आम्दानीमा पहिरो गएको छ । एक वर्षको अवधिमा कम्पनीको ५ अर्ब ६६ करोड ५० लाख रुपैयाँको व्यापार गायब भएको हो ।

काठमाडौँ महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा कम्पनीले उत्पादन गर्ने गरेको अमृत तेलमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएर खान अयोग्य रहेको पृष्टि गरेको थियो । मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचार गरिएको हो ।

सोहि कम्पनीले सन् २०२३ मा ६ अर्ब ९८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । जुन सन् २०२२ को तुलनामा ४५ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १२ अर्ब ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा ११ अर्ब ७ करोड ९० लाख रुपैयाँ र सन् २०२० मा ६ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कच्चा तेलमा पूर्ण अन्तर्राष्ट्रिय बजारमा निर्भर भएकाले मूल्यमा आएको उतारचढावले कम्पनीको व्यापारमा असर पुगेको हो । सन् १९८८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी आन्तरिक बजारमा बिक्री गर्नुको साथै निर्यात गर्दै आएको छ ।

कम्पनीले आन्तरिक बजारमा अमृत, सनस्टार र रानी गरी तीनवटा ब्रान्डमा तेल बिक्री गर्दै आएको छ । कम्पनीले दक्षिण अमेरिका, मलेसिया, इन्डोनेसिया, युक्रेन, क्यानाडा, अष्ट्रेलिया र भारतबाट कच्चा पदार्थ आयात गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३४ करोड ६२ रुपैयाँको रेटिङ गराएको छ । जसका कम्पनीले एथ्री रेटिङ पाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*