दबाबपछि सिआईबीले रिलायन्स स्पिनिङ्ग मिल्स आईपीओ काण्डको अनुसन्धान गर्न सकेन, थन्कियो करोडौंको घोटाला काण्ड
काठमाडौं । वित्तीय अपराधको अनुसन्धान गर्ने भन्दै हात हालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा हुन लागेको घोटाला काण्डबाट पछि हटेको छ । स्रोतका अनुसार सिआईबीमाथि परेको राजनीतिक र विभिन्न दबाबका कारण रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओको छानबीन नै नगरि सिआईबी पछि हटेको हो ।
बुक बिल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने वर्ष प्रतिशेयर आम्दानी ५४.३४ रुपैयाँ रहेको र आईपीओ निष्काशन गर्दागर्दै ईपीएस २.०८ रुपैयाँमा झरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डमा गलत र झूठा वित्तीय विवरण बुझाएर बुक बिल्डिङ विधिमार्फत महंगो मूल्यमा आईपीओ निष्काशन गर्न लागेको भन्दै सेबोन र प्रहरीमा उजुरी परेको थियो । तर, सो उजुरी माथि सेबोन भित्रैबाट छानबीन गरिएको भन्दै थप अध्ययनको लागि फाइल सिआईबीलाई बुझाइएको थियो ।
झूठा वित्तीय विवरण तयार पारी सोझा लगानीकर्तालाई फसाउने उद्देश्यले बुक बिल्डिङमा आईपीओ जारी गर्न लागेको विषयमा पर्याप्त अनुसन्धान गर्नुपर्नेमा सिआईबी नै पछाडि हटेको छ । सिआईबी स्रोतका अनुसार रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ माथि थप छानबीन नगर्ने गरी सिआईबी प्रमुख दिपक थापाले हस्ताक्षर गरिसकेका छन् ।
गम्भीर अपराधको गहन अनुसन्धानमा पोख्त रहेको र हालसम्म अपराध अनुसन्धानमा जनताको विश्वास जित्न सफल सिआईबीले रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा भएको घोटाला छानबीन नगर्दा नेपाल प्रहरीकै इमान र इज्जत माथि धक्का लाग्न सक्नेछ । यद्यपि आम लगानीकर्ताहरुले रिलायन्स स्पिनिङ्ग मिल्समा के भएको थियो भन्ने कुरा बुझिसकेका छन् । तर, दिनको घाम जत्तिकै छर्लङ्ग हुने गरी रचिएको घोटाला काण्डमा नेपाल धितोपत्र बोर्डकै उच्च तहका कर्मचारीहरुको संलग्नता रहकाले पनि सिआईबीको छानबीनको आवश्यकता थप बढेर गएको छ ।
लगानीकर्ताहरुलाई फसाउन पब्लिक कम्पनी बनाउने भन्दै गलत वित्तीय विवरणको आधारमा शेयर जारी गरेर करोडौं कुम्ल्याउने र जनतालाई ठगी गर्ने धन्दामा संलग्न धितोपत्र बोर्डका जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गर्न सिआईबीले किन खुट्टा कमायो ? आम लगानीकर्ताहरुले प्रश्न गरिरहेका छन् ।