निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी र खुद बीमा शुल्क आम्दानीको अवस्था कस्तो छ ?

३२ श्रावण २०८१, शुक्रबार १५:५६

काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले आफ्ना प्रमुख वित्तीय सूचांकहरुमा सुधार गरेका छन् ।

समीक्षा अवधिमा कम्पनीहरुले कुल १६ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । जसमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले यस अवधिमा एक अर्ब ९८ करोड ८७ लाख रुपैयाँ खुेद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सगरमाथा लुम्बिनी खुद बीमा शुल्क आर्जनमा दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा एक अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा नेको इन्स्योरेन्सले पनि एक अर्ब ६६ करोड १२ लाख रुपैयाँको खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पूँजी पु्र्याउनको लागि कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित

 

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ५६ करोड १२ लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चुक्ता पूँजी दुई अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब ४१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड रुपैयाँ रहेको छ । त्यस्तै, दि ओरियण्टल इन्स्योरेन्सले एक अर्ब ३८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन एक अर्ब ३३ करोड रुपैयाँ र चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन एक अर्ब २० करोड रुपैयाँ र चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले आवश्यक न्यूनतम चुक्ता पूँजीको लागि हकप्रद निष्काशन गर्ने भएको छ ।

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ७६ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सले ७५ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

एनएलजी इन्स्योरेन्सले पनि ७५ करोड ५२ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ६५ करोड २२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । यी दुबै कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशन बमोजिमको चुक्ता पुँजी पुर्याउनको लागि हकप्रद निष्काशन गर्ने भएका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा ३१ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*