माफियाको चलखेलप्रति बोर्डको नजर, शेयर खरिद बिक्री गर्ने उत्साहित गराउनेलाई कारबाही गर्ने चेतावनी

३२ श्रावण २०८१, शुक्रबार १३:१९

काठमाडौँ । पुँजी बजारमा हुने चलखेललाई लिएर नियामक निकाय नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै शेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्ने भनेको हो ।

पछिल्लो समय शेयर बजार निरन्तर बढ्दो क्रममा रहदा ठुला लगानीकर्ताले स–साना तथा नवप्रवेशी लगानीकर्तालाई कम्पनीको नामै ताकेर समाजिक सञ्जालमा शेयर खरिद बिक्री गर्ने उत्साहित गराइ रहेका छन् । विभिन्न संचार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता समाजिक सञ्जालमार्फत नेप्से यति पुग्छ भन्दै निश्चित शेयर किन्न अभिब्यक्ति दिएको भन्दै बोर्डका उजुरी समेत आउने गरेपछि यस्ता कार्य नगर्ने निर्देशन दिएको हो ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउदै संचार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्ब रोक्न भनेको छ ।

यो सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराउँदै विगतमा समेत यस्तो किसिमको कामकारवाही भए नभएको सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको बोर्डले सूचनामा उल्लेख गरेको छ । बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुन बमोजिम कारवाहि अगाडि बढाईने व्यहोरा समस्त लगानीकर्ताहरुलाई गराउदैँ कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*