मानुषी लघुवित्तको खुद नाफा रू. १ करोड ९१ लाख धनात्मक
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत वर्ष कम्पनीको खुद नाफा रू. १ करोड ९१ लाख धनात्मक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा रू. ४ करोड ४२ लाख ऋणात्मक थियो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा ऋणात्मकबाट धनात्मक भएकाले खुद नाफा पनि धनात्मक भएको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड ४३ लाख ऋणात्मक रहेकोमा गत आवमा रू. २ करोड ७२ लाख धनात्मक भएको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १ दशमलव ३८ प्रतिशत सामान्य घटेको छ । अघिल्लो आवमा कम्पनीले ८ करोड ९४ लाख खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष घटेर रू. ८ करोड ८२ लाखमा झरेको छ ।
गत वर्ष नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो आवमा ४० रुपैयाँ ४४ पैसा ऋणात्मक रहेकोमा गत आवमा १७ रुपैयाँ ५३ पैसा धनात्मक भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ २ पैसा छ ।
चुक्ता पूँजी रू. १० करोड ९३ लाख रहेको कम्पनीले गत आवमा रिजर्भमा रू. ५ करोड ४७ लाख भन्दा बढी सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १ करोड ४२ लाख छ ।
गत आवमा कम्पनीले रू. ९८ करोड ७८ लाख बढी निक्षेप संकलन गरेको छ भने रू. १ अर्ब २८ करोड ५३ लाख बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ७ दशमलव ९० प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ४ दशमलव ४६ प्रतिशतमा झरेको छ ।