पुँजी बजारमा रौनकः परिसूचक तीन हजार बिन्दुमा पुग्दा ३० अर्बको कारोबार, रेकर्ड ब्रेक गर्ला ?
काठमाडौँ । शेयर बजारमा रौनक कायमै रहेको छ । बजारमा आइरहेको निरन्तरको उचाईले शेयर लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो ।
अर्थमन्त्रालयदेखि प्रधानमन्त्री केपी शर्मा ओलि शेयर बजार प्रति सकारात्मक रहेको बताउँदै आइरहेका छन् । जसले गर्दा लगानीकर्ताको मनोबल समेत बलियो हुँदै गएको छ । अर्थतन्त्र समेत निरन्तर सकारात्मक बन्दै गएको, नियामक समेत केही नीति खुकुलो बनाउँदै गरेको र शेयर बजारको शत्रु भनिने बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको बेला बजारले नयाँ उचाई कायम राख्ने लगानीकर्ताको विश्वास रहेको छ ।
अर्थमन्त्री विष्णु पौडेल बजार सन्तुलित बनाउनु पर्नेमा जोड दिइरहेका छन् । उनीले बजारमा चलखेल हुन नदिन धितोपत्र बोर्डलाई निर्देशन समेत दिएका छन् । शेयर किन्दा कम्पनीको वित्तीय अवस्था, भावि योजना र रणनीति बुझेर मात्र लगानी गर्नु पर्छ । अहिले वित्तीय अवस्था नै नाजुक भएको कम्पनीको शेयर मूल्य बढ्नु भनेको माफियाको चलखेल हुनु हो । जसमा सबै सचेत हुनुपर्छ ।
साताको अन्तिम दिन कारोबार रकम हालसम्मकै उच्च भएको छ । ठुला लगानीकर्ता एक्जिट भएर साना लगानीकर्ता फस्नबाट बच्नुपर्ने देखिन्छ । बजारमा अरुको लह–लहैमा लाग्नु भन्दा कम्पनीको वित्तीय अवस्था र भावि योजना हेरेर लगानी गर्नुपर्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.०५ अकंले बढेर ३०००.८१ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहिबार आठ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ५.६५ प्रतिशत, विकास बैंक समूहको १.२८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३२ प्रतिशत, हाइड्रोपावर समूहको ०.७९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको हो ।