वर्ष दिनमा जीवन बीमा कम्पनीहरुले कमाए साढे पाँच अर्ब मुनाफा, कसको कति ?

३० श्रावण २०८१, बुधबार १२:४४

काठमाडौँ । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले साढे पाँच अर्बभन्दा बढी नाफा आर्जन गर्ने सफल भएका छन् । १३ जीवन बीमा कम्पनीले (राष्ट्रिय जीवन बीमाले प्रकाशन नगरेको) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा पाँच अर्ब ५७ करोड ९५ लाख ८० हजार रुपैयाँ आर्जन गरेका हुन् ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीहरुले आर्जन गरेको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९१ करोड ४७ लाख १३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

आर्थिक मन्दीका बीचमा पनि जीवन बीमा कम्पनीहरु मुनाफामा उच्च बृद्धि गर्न सफल भएका कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासको वित्तीय विवरणले देखाएको छ । यसअवधिमा ३ कम्पनीको नाफा घटेको छ भने १० कम्पनीको वृद्धि भएको छ ।

वर्ष दिनको अवधिमा सर्वाधिक नाफा कमाउने कम्पनीमा हिमालयन लाइफ पहिलो नम्बरमा रहेको छ । कम्पनीले गत आवको असार मसान्तसम्ममा आफ्नो मुनाफा २१.५९ प्रतिशतले बढाएर ६३ करोड ३८ लाख ५८ हजार रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुको नाफा ५२ करोड १२ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

सर्वाधिक नाफा बढाउने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । गत आर्थिक वर्षमा सिटिजनले आफ्नो मुनाफा २१६.५६ प्रतिशतले बढाएर ३२ करोड ४७ लाख ७९ हजार रुपैयाँ पुराएको छ । अघिल्लो आवको भने कम्पनीको नाफा १० करोड २५ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

नाफा घटेपनि सन नेपाल लाइफ सबैभन्दा धेरै नाफा हुने कम्पनीको दोस्रो नम्बरमा रहेको छ । कम्पनीको नाफा २६.५३ प्रतिशतले घटेर५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । सर्वाधिक नाफा रहेको तेस्रो नम्बरमा रहेको आइएमई लाइफको १४५.०४ प्रतिशतले बढेर ५१ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा नेपाल लाइफको नाफा ३०.८० प्रतिशतले बढेर५१ करोड ३९ लाख रुपैयाँ, मेट लाइफको ३४.१४ प्रतिशतले घटेर ५० करोड ४१ लाख रुपैयाँ, रिलायबल नेपालको २७.५७ प्रतिशतले बढेर ४२ करोड ६३ लाख, नेशनल लाइफको ६०.९२ प्रतिशतले बढेर ४० करोड ६३ लाख र सूर्यज्योति लाइफको १४६ प्रतिशतले बढेर ३९ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

यता, प्रभु महालक्ष्मी लाइफको १०४ प्रतिशतले बढेर ३६ करोड ६१ लाख रुपैयाँ, सानिमा रिलायन्सको ५९ प्रतिशतले बढेर ३५ करोड ८ लाख रुपैयाँ, एशियन लाइफको ३६.९१ प्रतिशतले बढेर ३२ करोड ४७ लाख र एलआइसी एशियाको ६८.३४ प्रतिशतले घटेर २३ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीहरुको मुनाफा एक्च्युरी भ्यालुएसन पछि मात्र वास्तविक मुनाफा देखिन्छ । एक्च्युरी भ्यालुएसन पछि कम्पनीहरुको मुनाफा हेरफर हुन्छ ।

 

2 thoughts on “वर्ष दिनमा जीवन बीमा कम्पनीहरुले कमाए साढे पाँच अर्ब मुनाफा, कसको कति ?

  1. लोकनाथ तिम्सिना says:

    बिमितलाई के फाईदा ?

  2. Sabita says:

    Growth in terms of profit
    Citizen Life
    Suryajyoti Life
    IME Life

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*