राष्ट्रिय बीमा कम्पनीको नाफा ६२ करोड माथि, कस्ता छन् अन्य सूचक?
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले गत वर्ष ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षका तुलनामा १८.८० प्रतिशतले कम हो । अघिल्लो वर्षमा कम्पनीले ७७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार ५ प्रतिशतले घटेर ९५ करोड २२ लाख रुपैयाँमा झरेकोछ । गत वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ३० प्रतिशतले घटेको छ भने खुद बीमाशुल्क आर्जन १३.२८ र कुल दाबी भुक्तानी ७.५७ प्रतिशतले घटेको छ ।
गत वर्ष कम्पनीको लगानीबाट हुने आय समेत १०.८९ प्रतिशतले घटेर ८१ करोड ९८ लाख रुपैयाँमा झरेको छ । कम्पनीले गत वर्ष कुल खर्च समेत ६ प्रतिशतले घटाएर ४४ करोड ७७ लाख रुपैयाँमा सिमित बनाएको छ । २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भ फण्ड १२.४५ प्रतिशतले घटेर १७ अर्ब ४४ करोड २८ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष १९ अर्ब ९२ करोड ३० लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ५४.४६ रुपैयाँले घटेको छ । प्रतिशेयर नेटवर्थ १६३२.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५७.३४ गुणा र तरलता अनुपात ३.४७ प्रतिशत छ ।