एनएलजी इन्स्योरेन्सको व्यवसाय र मुनाफा दुवै बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको व्यवसाय, मुनाफा, प्रतिशेयर आम्दानी सबै सकारात्मक देखिएको छ ।
कूल चुक्ता पुँजि एक अर्ब ५३ करोड रहेको कम्पनीको जगेडा कोषमा कूल एक अर्ब ७३ करोड रुपैयाँ संचिती रहेको छ । समीक्षा अवधीमा कम्पनीको कोषको आकार १३.२१ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको समग्र बीमा व्यवसाय ११.१२ प्रतिशतले बृद्धि गरी दुई अर्ब ५८ करोड पुर्याउन सफल भएको छ । जसमा खुद बीमा शुल्क ७५ करोड २१ लाख रुपैयाँ मात्रै धारण गरेको छ । जसका कारण कम्पनीको जोखिम कम धारण गरेको देखिएको छ ।
त्यस्तै, कम्पनीको कूल बीमा दावी भुक्तानी उच्च अंकले घटेर दुई अर्ब १९ करोडबाट एक अर्ब ५९ करोडमा सीमित भएको छ । कम्पनीले जोखिमयुक्त व्यवसाय नलिई जोखिमहरुको सही विश्लेषण गरेकोले बीमा दावी कम परेको देखिएको छ ।
कम्पनीले लगानी तथा अन्यबाट प्राप्त आम्दानी ६.१३ प्रतिशतले बृद्धि भई २१ करोडबाट बढेर २२ करोड ४४ लाख पुगेको छ । त्यस्तै, कूल खर्च एक अर्ब चार करोडबाट झरेर ९६ करोडमा सीमित हुन पुगेको छ । कम्पनीले खर्च ७.५३ प्रतिशतले घटाउन सफल भएको छ । खर्च घटाउने रणनीति तथा आम्दानी बढाउने नीतिका कारण कम्पनीको मुनाफा २१.७७ प्रतिशतले बृद्धि भई २० करोड ८० लाख रुपैयाँबाट बढेर २५ करोड ३३ लाख नाघेको छ ।
समीषा अवधीमा कम्पनीको जारी बीमा पोलिसी संख्या एक लाख ९० हजार २७१ वटा रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दानी १२.४६ रुपैयाँबाट बढेर १६.४६ पुगेको छ । एनएलजी इन्स्योरेन्सको समग्र अवस्था उत्कृष्ट रहेको सूचांक सोल्भेन्सी रेसियोले देखाएको छ । जसमा सोल्भेन्सी रेसियो १.७३ मात्रै रहेको छ ।