सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, मुनाफा ८२% ले वृद्धि
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपीएस समेत बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको मुनाफा ८० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ३७ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ६९ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
कम्पनीले यस अवधिमा खुद बीमा शूल्क आर्जन ७८.१२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ११ करोड ६३ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गत आवमा एक अर्ब ९८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीले गत आवमा चार अर्ब ११ करोड ७८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा दुई अर्ब ९४ करोड नौ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ४० प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा कम्पनीले आफ्ना बीमितहरुलाई दुई अर्ब १४ करोड ३३ लाख रुपैयाँ कुल बीमा दावी भुक्तानी दिएको छ । त्यस्तै, नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५२ पैसाबाट बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा रहेको छ।
दुई अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार २ प्रतिशतले बढेर चार अर्ब ८६ करोड ९२ लाख रुपैयाँ रहेको छ ।