इमर्जिङ नेपालको मुनाफा डेढ करोड नजिक, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १९ दशमलव ८३ प्रतिशतले घटेर एक करोड ४८ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यसले १ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले सञ्चालन आम्दानी चाँही बढाएको छ । कम्पनीको सञ्चालन आम्दानी १ करोड ४३ लाखबाट बढेर १ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
यता, अन्य स्रोतबाट हुने आम्दानी १ करोड ६६ लाखबाट घटेर १ करोड ८ लाख रुपैयाँ कायम भएको छ । उक्त आम्दानी घट्दा नाफामा दबाब परेको हो ।
५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इमर्जिङ नेपालको जगेडा कोषमा ३ करोड ९७ लाख रुपैयाँले जम्मा छ । यसको प्रतिसेयर आम्दानी २.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०७.१६ रुपैयाँ रहेको छ ।