२७ माइक्रोफाइनान्सको वित्तीय अवस्थाः कुन सूचकमा को कति अब्बल ? (तथ्याङ्कसहित)
काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीका वित्तीय सूचकहरु विस्तारै लय फर्कि रहेका छन् । कम्पनीले सार्वजनिक गरी रहेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरण हेर्दा अधिकांश सूचक सकारात्मक यात्रा तिर लम्कि रहेका हुन् । लामोसमय समस्याग्रस्त रहेका लघुवित्तहरुको वित्तीय सूचक सबल आउन थालेको हो ।
लघुवित्तको वित्तीय अवस्थालाई बेला–बेला सडक आन्दोलनले धक्का दिइरहेको छ । केहि अराजक समूहले लघुवित्त संस्था खारेजदेखि ऋण मिनाह गर्नुपर्ने भन्दै चलाएको आन्दोलनले लघुवित्त संस्थाहरुको खराब कर्जा वृद्धि भइरहेको देखिन्छ । लघुवित्त प्रति आम सर्वसाधारण फैलिएको नकारात्मक कुराले कम्पनीको वित्तीय अवस्था पछिल्लो समय खस्किदै गएको हो । अहिले पनि केहि समूह सडकमा लघुवित्त खारेजको माग गरी रहेको छ ।
विभिन्न बाधा अवरोधकाबीच माइक्रोफाइनान्सको नाफा भने सन्तोषजनक रहेको छ । आर्थिक मन्दि, सडक आन्दोलनलगायतका अवरोधकाबीच कम्पनीहरुको सूचकमा सुधार भएको देखिन्छ । पछिल्लो समय नियामक निकायले पनि माइक्रोफाइनान्सलाई बलियो बनाउँदै लैजाने रणनीति लिएको छ । यता, अर्थमन्त्रालय समेत लघुवित्त क्षेत्रलाई कसरी बलियो र अब्बल बनाउँदै लैजाने भन्ने विषयमा अध्ययन गरी रहेको छ । सोहि कारण पनि लघुवित्तका सूचक सकारात्मक बन्दै गएको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४८ कम्पनी मध्ये २७ लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जस अनुसार अधिकांश कम्पनीको सूचक सन्तोषजनक नै रहेको छ ।
नाफामा उत्कृष्ट साना किसान, स्वाबलम्बलनलाई पछ्याउँदै नेरुडे
गत आर्थिक वर्षको असार मसान्तसम्ममा साना विकास लघुवित्त वित्तीय संस्थाको नाफा सबैभन्दा धेरै रहेको छ । वित्तीय विवरण सार्वजनिक गरेका २७ कम्पनी मध्ये साना किसानको नाफा सर्वाधिक हो । यसअवधिमा कम्पनीले ९४ करोड ९६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२.७७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ कम्पनीको शेयर नाफा बढेको छ भने १० कम्पनीको घट्न पुगेको छ । यसअवधिमा सर्वाधिक नाफा बढाउने कम्पनीमा आशा लघुवित्त पहिलो नम्बरमा रहेको छ । कम्पनीले गत असार मसान्तसम्ममा ४० हजार ५०० प्रतिशतले बढाएर ६ करोड ८९ लाख पुुराएको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको नाफा १ लाख ४८ हजार रुपैयाँमा सीमित रहेको थियो ।
त्यस्तै, नाफामा स्वाबलम्बन लघुवित्तलाई भर्खरै मर्जर सम्पन्न गरेको नेरुडे मिर्मिरे लघुवित्तले पछउँदैछ । स्वाबलम्बलनको नाफा १०० प्रतिशतले बढेर ५३ करोड ८२ लाख रुपैयाँ र नेरुडे मिर्मिरेको ६७२ प्रतिशतले बढेर ४४ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
साथै, नेशनल लघुवित्तको ३४ करोड, फरवार्ड लघुवित्तको ३२ करोड, मेरो माइक्रोफाइनान्सको २१ करोड रहेको छ ।
चुक्तापुँजी कस्को कति ?
नाफामा अग्र स्थानमा रहेको साना किसान विकास लघुवित्तको चुक्तापुँजी समेत सर्वाधिक रहेको छ । २७ लघुवित्त मध्ये कम्पनीको चुक्तापुँजी ३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ हुँदै पहिलो नम्बरमा रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.२५ प्रतिशतले बढी हो ।
यता, एनआइसी एशिया लघुवित्तको १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ, स्वाबलम्बन लघुवित्तको १ अर्ब ४५ करोड रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तको १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको १ अर्ब ३२करोड रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सको १ अर्ब २३ करोड, नेशनल लघुवित्तको १ अर्ब १६ करोड र फरवार्ड लघुवित्तको १ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको छ । अन्यको अर्बभन्दा कम चुक्तापूँजी छ ।
खुद ब्याज आम्दानीमा पनि साना किसान नम्बर वान, अन्यको अवस्था कस्तो ?
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका २७ लघुवित्त मध्ये साना किसान विकास लघुवित्तको खुद ब्याज आम्दानी सबैभन्दा धेरै देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढेर २ अर्ब १९ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा स्वाबलम्बन लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको १ अर्ब २१ करोड ७२ लाख रुपैयाँ, नेशनल लघुवित्तको १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ, नेरुडे र्मिर्मिरे लघुवित्तको १ अर्ब रुपैयाँ रहेको छ ।
अन्य २१ कम्पनीको खुद ब्याज आम्दानी अर्बभन्दा कम रहेको कम्पनीले जारी गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख गरेको छ ।
प्रतिशेयर आम्दानीमा महिला पहिलो, युनिक–नेरुडे–फरवार्ड र नेशनलको प्रतिस्पर्धा
प्रतिशेयर आम्दानीमा महिला लघुवित्त बलियो देखिएको छ । कम्पनीले जारी गरेको गत आर्थिक वर्षको चौथो त्रैमास अनुसार प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ रुपैयाँले बढी हो । कम्पनीले उत्कृष्ट ग्रोथ गरेको छ ।
२७ लघुवित्त मध्ये प्रतिशेयर आम्दानी धेरे हुनै सूचीको दोस्रो नम्बरमा स्वाबलम्बन लघुवित्त पहिलो नम्बरमा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७० पैसाबाट बढेर ३७ रुपैयाँ १२ पैसा पुगेकोे हो ।
साथै, युनिक नेपालको ३२.२८ रुपैयाँ, नेरुडे मिर्मिरेको ३१.९८ रुपैयाँ, फरवार्ड लघुवित्तको ३०.४५ रुपैयाँ, नेशनल लघुवित्तको २९.२५ रुपैयाँ, गुराँस लघुवित्तको २५.६१ रुपैयाँ र साना विकास लघुवित्तको २४.२६ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ ।
जगेडाका को कति अब्बल
गत आर्थिक वर्षको असार मसान्तसम्ममा साना किसान विकास लघुवित्तको जगेडामा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ सञ्चिति रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८.८१ प्रतिशतले बढी हो ।
साथै, फरवार्ड लघुवित्तको १ अर्ब ७२ करोड, स्वाबलम्बनको १ अर्ब ६८ करोड, ग्रामिण विकास लघुवित्तको १ अर्ब ६१ करोड रुपैयाँ जगेडामा सञ्चिति रहेको छ ।