२७ अर्बको शेयर कारोबारः नेप्से ७० अकंले बढ्दा परिसूचक २९३१ बिन्दुमा, नयाँ रेकर्ड कायम राख्ला ?
काठमाडौँ । शेयर बजारमा निरन्तर उछाल आइरहेको छ । पछिल्लो समय कारोबार रकम र नेप्से परिसूचकले निरन्तर उचाई कायम गरी रहेको छ । कारोबार हालसम्मकै उच्च बन्न पुगेको छ । दिनप्रतिदिन बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाइ रहेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलि र अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै बजार सुधार तिर लम्कि रहेको छ । प्रधानमन्त्री तहबाटै शेयर बजार अर्थतन्त्रको ऐना रहेको र सरकार यसको सुधारका लागि प्रतिवद्द रहेको अभिब्यक्तिपछि बजारका लगानीकर्ता थप हौसिदै गएका हुन् । अर्थतन्त्र समेत निरन्तर सकारात्मक बन्दै गएको, नियामक समेत केही नीति खुकुलो बनाउँदै गरेको र शेयर बजारको शत्रु भनिने बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको बेला बजारले नयाँ उचाई कायम राख्ने लगानीकर्ताको विश्वास रहेको छ ।
शेयर बजारमा लगानीकर्ताको मनोबलले सबैभन्दा ठुलो भुमिका खेलेको हुन्छ । सबैबाट सकारात्मक सन्देश पाइरहेका शेयर लगानीकर्ताहरुको मनोबल समेत दरिलो बन्दै गएको छ । नवप्रवेशी लगानीकर्ताहरुले भने माफियाहरुको चलखेलबाट बच्नु पर्ने केहि जानकारहरु बताउँछन् । बजार बढेको बेला कमजोर सूचक भएका कम्पनीका माफियाले चलखेल गरी शेयर मूल्य बढाउने भएकाले साना लगानीकर्ता सचेत समेत हुनु पर्छ । अरुको लह–लहैमा लागेर शेयर किन्नु भन्दा बलियो कम्पनी रोज्नुपर्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.८१ अकंले बढेर २९३१.६५ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । सोमबार बैकिङ समूहको २.९५ प्रतिशत, विकास बैंक समूहको ३ प्रतिशत, फाइनान्स समूहको ४.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढ्दा ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।