सन नेपाल लाइफको मुनाफा ५७ करोड रुपैयाँ माथि, ईपीएस कति?
काठमाडौं । सन नेपाल लाइफले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार कम्पनीले गत वर्ष ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो । जुन २६.५३ प्रतिशतले बढी हो ।
गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ३२.६१ प्रतिशतले बढेर ७ अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ५ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकारमा उल्लेख्य वृद्धि गरेको छ ।
त्यसैगरी कम्पनीको जगेडा कोषमा ५० करोड २० लाख २६ हजार रुपैयाँ संचिति रहेको छ । कम्पनीको शेयर प्रिमियम खातामा १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ छ ।
कुल ३ अर्ब ९६ करोड चुक्ता पूँजी भएको यस कम्पनीले गत वर्ष ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष ३ अर्ब ८९ करोड ८७ लाख रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १४.२४ प्रतिशतले बढेको हो ।
कम्पनीले गत वर्ष ३ अर्ब ८८ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३.५६ प्रतिशतले बढी हो । त्यस्तै गत वर्ष कम्पनीले ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५.७८ प्रतिशत बढी हो ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा, पीई अनुपात ३५.२३ गुणा र प्रति शेयर कुल सम्पत्तिको मूल्य ३५६ रुपैयाँ २ पैसा रहेको छ ।