५० लाखमा बनेको शिखर नगरपालिका-३ को वडा कार्यालयमा गाईबस्तु बाधिदैं, कोठा भित्रै पानीको ताल

२५ श्रावण २०८१, शुक्रबार १४:३७

काठमाडौँ । डोटी जिल्ला शिखर नगरपालिका वडा न– ३ को वडा कार्यालय गाईबस्तु राख्नमा प्रयोग भएको पाइएको छ । पूर्ण रुपमा निर्माण सम्पन्न नभइसकेको वडा कार्यालयको भवनमा गाईबस्तु बाधिएको पाइएको हो ।

प्रदेश सरकारको ४० लाख रुपैयाँ र नगरपालिकाको १० लाख रुपैयाँ गरि जम्मा ५० लाख रुपैयाँ खर्च भएको उक्त भवनको निर्माण पुरा हुन सकेको छैन । निर्माण सम्पन्न नभएको भवनबाट नै वडा कार्यालयले सबै सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । जंगलकोबीचमा रहेको भवनमा पानी पर्दा कार्यालयका भित्र कोठामा पानी भरिने गरेको छ ।

नगरपालिकाबाट यस पटक वडा कार्यालय निर्माणका लागि बजेट नपर्दा भवनको निर्माण पुरा हुन नसकेको वडा न ३ का वडा अध्यक्ष गणेश बहादुर जोराले बताए । उनले भने, ‘प्रदेशको ४० लाख रुपैयाँ र नगरको १० लाख रुपैयाँ यस भवनमा खर्च भएको छ । निर्माण पुरा हुन सकेको छैन । यसै कार्यालयबाट सेवा सुविधा दिदै आइरहेका छौं । बर्षायाममा कार्यालय भित्र पानी पस्छ ।’

वडा कार्यालय लथालिङ रहेको भन्दै स्थानियहरुले विरोध गर्दै आइरहेका छन् । एक जना स्थानियले भने, ‘वडा कार्यालय जंगलकोबीचमा छ । त्यहा राख्नु नै गल्ती हो । सबैको पायक ठाउँमा राख्नु पर्ने थियो । यति धेरै खर्च भइसकेको कार्यालयमा ढोका निर्माण गर्नु नसक्नु लज्जापद कुरा हो । अहिले कहिले त्यहि कार्यालयमा गाईबस्तु राखिएका हुन्छन् । कहिले पानी र हिलोको ताल हुन्छ ।’

कार्यालय भवन निर्माणमा भ्रष्टाचार भएको हुन सक्ने अर्का एक स्थानियले बताए । ‘५० लाखमा बनेको भवन यति थोरै काम हुन्छ ? यसमा करिब आधा रकम हिनामिना भएको छ । छानबिन हुनुपर्छ’ उनले भने ।

One thought on “५० लाखमा बनेको शिखर नगरपालिका-३ को वडा कार्यालयमा गाईबस्तु बाधिदैं, कोठा भित्रै पानीको ताल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*