हिमालयन उर्जाको हकप्रद आजदेखि बिक्रीमा
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको हकप्रद शेयर आज साउन २४ गतेदेखि बिक्री खुला गरिएको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले हकप्रद बिक्री खुला गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ९९ करोड रुपैयाँबराबरको ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले उक्त हकप्रद निष्काशन गरेको छ । हकप्रद निष्काशन प्रयोजनार्थ यस कम्पनीले साउन २० गते बुक क्लोज गरेको थियो । यसका आधारमा साउन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद शेयर आजदेखि भदौ १२ गते बैंकिङ्ग समयसम्म खुला रहनेछ । कम्पनीले हकप्रद निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले ‘आइआरएन डबल’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । यस हकप्रदमा बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका–०१, शिवालय, रामेछाप तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पूँजी ९९ करोड रहेको छ । हकप्रद शेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।