राष्ट्रिय स्तरका बैंकमा मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धाः कामना र सांग्रिलाको लोभलाग्दो ग्रोथ, पुच्छरमा ज्योति

२३ श्रावण २०८१, बुधबार १३:१९

काठमाडौँ । हाल संचालननमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले सुधारिएको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार गरिमा र मुक्तिनाथ विकास बैंकबीच प्रतिस्पर्धा देखिएको छ । अधिकांश सूचकहरुको गरिमा र मुक्तिनाथ अब्बल देखिएका हुन् ।

सांग्रिला डेभलपमेन्ट र कामना सेवा विकास बैंकको वित्तीय अवस्थामा आएको सुधार निकै लोभलाग्दो रहेको छ । यी दुबै बैंकको ग्रोथ निकै उच्च देखिन्छ । यता, ज्योति विकास बैंकको वित्तीय अवस्था भने खस्किदै गइरहेको छ । राष्ट्रिय स्तरका विकास बैंक मध्ये ज्योति निकै कमजोर स्थापित बनि रहेको छ ।

नाफामा कस्को अवस्था कस्तो ?

विकास बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख ४८ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक अग्र स्थानमा रहेको छ । बैंकले यसअवधिमा १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा सर्वोधिक नाफा बढाउने कम्पनीमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । बैंकले यसअवधिमा आफ्नो नाफा ९२.४७ प्रतिशतले बढाएर ५२ करोड ४ लाख रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २७ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

ज्योति विकास बैंकको खराब कर्जा धेरै

राष्ट्रिय स्तरका आठ विकास बैंक मध्ये सबैभन्दा धेरै खराब कर्जा ज्योति विकास बैंकको रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा ज्योतिको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने बैंकको खराब कर्जा ३.४३ प्रतिशत रहेको थियो ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको खराब कर्जा आठ बैंक मध्येकै कम रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खराब कर्जा २.२६ प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैकको खराब कर्जा ०.९८ प्रतिशत रहेको थियो ।

यता, गरिमा विकास बैंकको २.८९ प्रतिशथ, कामना सेवा विकास बैंकको ३.२१ प्रतिशत, लुम्बिनी विकास बैंकको ३.२९ प्रतिशत, शाइन रेसुङ्गाको ३.४३ प्रतिशत, महालक्ष्मीको ४.०८ प्रतिशत र सांग्रिलाको ४.०८ प्रतिशत रहेको छ ।

इपिएसमा अब्बल गरिमा, मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धा

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्गलाई हेर्दा गरिमा विकास बैंक प्रतिशेयर आम्दानीमा अब्बल देखिएको छ । राष्ट्रिय स्तरका आठ विकास बैंक मध्ये गरिमाको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ रहेको छ ।

त्यस्तै, कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी १८.३८ रुपैयाँ, मुक्तिनाथ विकास बैंकको १८.१५ प्रतिशत, लुम्बिनी विकास बैंकको १७.१६ रुपैयाँ, सांग्रिलाको १५.१७ रुपैयाँ, शाइन रेसुङ्गाको १४.७३ रुपैयाँ, महालक्ष्मीको ११.२७ रुपैयाँ र ज्योति विकास बैंकको ५.६१ रुपैयाँ रहेको छ ।

लाभांश क्षमता कस्को कति

राष्ट्रिय स्थरका आठ विकास बैंकको लाभांश क्षमता कमजोर बनेको छ । बैंकहरुको वितरणयोग्य नाफामा आएको संकुचनले लाभांश क्षमता प्रभावित भएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा विकास बैंक मध्ये कामना सेवा विकास बैंकको लाभांश क्षमता धेरै रहेको छ । कम्पनीले १०.९१ प्रतिशत लाभांश दिन सक्ने देखिएको हो ।

साथै, गरिमा विकास बैंकले १०.५२ प्रतिशत, शाइन रेसुङ्गाले ८.१२ प्रतिशत, लुम्बिनी विकास बैंकले ७.४ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ४.२५ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*